काठमाडौं । अन्ततः नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। 

यसअघि नेकपमा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो। गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

ad

सोही भेटपछि कांग्रेसले पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च जाने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ। 

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

कांग्रेसका ७ जना सांसदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्ब खातीले रिट दर्ता गराएका हुन्। निवेदकमा प्रमुख सचेतक घिमिरेसहित, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा छन्। 

कांग्रेस नेताहरूले भने सरकारले तोकेको फागुन २१ को निर्वाचनमा जान तयार रहेको बताउँदै आएका छन्। कांग्रेसले पुस २६ गतेदेखि पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।