
पद्मा अर्याल
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको तयारी यतिखेर तीव्रगतिमा अघि बढिरहेको छ । यद्यपि, व्यक्तिगत रूपमा म केही अस्वस्थताका कारण पूर्णरूपमा संलग्न हुन सकिरहेकी छैन, तर बिस्तारै तयारीका काममा जोडिन पाउँदा सन्तोष मिलेको छ । हामीले महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन प्रतिनिधि व्यवस्थापन, आवास, यातायात, प्रचारप्रसार, स्वयंसेवक परिचालन, आर्थिक व्यवस्थापन, स्वास्थ्य र मञ्च व्यवस्थापनलगायतका लागि विविध समिति तथा उपसमितिहरू गठन गरेका छौँ र ती सबै समितिहरू आ–आफ्नो जिम्मेवारीमा क्रियाशील छन् । अब, तयारीको काम लगभग अन्तिम चरणमा पुगेको छ ।
हाम्रो पार्टीको विधानले नीति र विधिको लागि विधान महाधिवेशन तथा नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशनको परिकल्पना गरेको छ । गोदावरीमा सम्पन्न विधान महाधिवेशनमार्फत हामीले नीतिगत स्पष्टता प्राप्त गरिसकेका छौँ । यस राष्ट्रिय महाधिवेशनको प्रमुख दायित्व भनेको विधान महाधिवेशनबाट पारित नीति र विधिलाई अनुमोदन गर्दै मुलुक र पार्टीको आवश्यकता अनुसारको एकीकृत नेतृत्व चयन गर्नु हो ।
आज राष्ट्रिय महाधिवेशनको एजेन्डा केवल आन्तरिक संगठनको विषय मात्र होइन । देशमा जुन विशेष परिस्थिति र गम्भीर राजनीतिक चुनौतीहरू थपिएका छन्, त्यसको सामना गर्न सक्ने नेतृत्वको खोजी गर्नु नै यतिखेरको मुख्य अभिभारा हो । हामीले महाधिवेशनमार्फत यस्तो नेतृत्वको निष्कर्षमा पुग्नु छ, जहाँ सबै कमरेडहरू एकै ठाउँमा उभिएर एउटा सशक्त सन्देश दिन सकियोस् । यो महाधिवेशनले बदलिएको राजनीतिक कोर्सलाई सही ठाउँमा ल्याउन सक्ने, आन्तरिक एकता सुदृढ भएको केन्द्रीय कमिटी निर्माण गर्नुपर्छ ।
हाम्रो पार्टी सबै उमेर समूह, जाति, समुदाय, लिङ्ग र भेगका जनताको साझा फूलबारी हो । हामीले युवा, अधबैँसे र परिपक्व नेताहरूको सन्तुलित संयोजनसहितको नेतृत्व निर्माणको अभ्यास विगतदेखि नै गर्दै आएका छौँ । वर्तमान राजनीतिक म्यान्डेट र समाजमा देखिएको युवा ऊर्जालाई ध्यानमा राख्दै, हामी यो महाधिवेशनबाट केन्द्रीय कमिटी र पदाधिकारीमा बढीभन्दा बढी युवाहरूलाई समावेश गर्ने दिशामा विशेष ध्यान दिनेछौँ । महाधिवेशनले यस विषयमा विवेकपूर्ण फैसला गर्नेछ भन्ने मेरो विश्वास छ ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र हाम्रो गौरव हो । दशौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीभित्र कुनै पनि समूहबन्दी वा गुटबन्दी छैन । नेतृत्व चयनका लागि आकांक्षीहरूले इच्छा प्रकट गर्नु पूर्णरूपमा लोकतान्त्रिक अधिकार हो, यसलाई गुटको रूपमा हेरिनु हुँदैन । हामी संवाद र छलफलका माध्यमबाट सर्वसम्मति कायम गर्न अधिकतम प्रयत्न गर्नेछौँ । तर, यदि सर्वसम्मति सम्भव नभएमा, हामी स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा (निर्वाचन) को विधिबाट नेतृत्व चयन गर्न पछि पर्दैनौँ । आठौँ, नवौँ र दशौँ महाधिवेशनबाट हामीले यो अभ्यासलाई सफलतापूर्वक स्थापित गरिसकेका छौँ र ११औँ महाधिवेशनमा पनि यसलाई निरन्तरता दिनेछौँ । जबरजस्ती नभई सबैको चित्त बुझे मात्र सर्वसम्मति हुनेछ भन्नेमा हामी स्पष्ट छौँ ।
पार्टी सञ्चालनमा महिलाहरूको पहुँच स्थापित गर्ने सबालमा एमाले सधैँ अग्रणी पार्टी रहेको छ । स्थानीय तहमा एकजनाबाट सुरु भएको महिला सहभागिताको यात्रा आज ३३ प्रतिशतको संवैधानिक अभ्याससम्म आइपुगेको छ । हाम्रो चिन्ता केवल संख्यामा सीमित छैन, हामी महिलाहरूको क्षमता र कुशलता बढाउँदै पार्टी सञ्चालनमा उनीहरूको पहुँचलाई कार्यकारी पदहरूसम्म कसरी पु¥याउन सकिन्छ भन्नेमा केन्द्रित छौँ । यसका लागि हामी विधानमै व्यवस्था गरेर महिलाहरूको सहभागितालाई बढाउँदै समानताको दिशामा अगाडि बढिरहेका छौँ ।
यसै सन्दर्भमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने रुचिबारे पार्टीभित्र गम्भीर छलफल भएको छ । राष्ट्रप्रमुखको सर्वोच्च जिम्मेवारी निर्वाह गरिसक्नुभएको व्यक्तित्व अहिलेको जटिल र ‘गिजोलिएको’ राजनीतिमा आएर विवादित हुनुपर्ने अवस्था नआओस् भन्नेमा पार्टी स्पष्ट छ । राष्ट्रमा कुनै संकट आउँदा तटस्थ र साझा अभिभावकको भूमिका निर्वाह गर्न सक्ने एकजना व्यक्तिलाई सक्रिय राजनीतिको कार्यकर्ता बनाएर विवादित बनाउनु शोभनीय हुँदैन भन्ने मान्यता स्थापित गर्दै पार्टीले उहाँलाई सक्रिय राजनीति नगर्न सुझाव दिएको हो । यो एउटा विधि स्थापित गर्ने लाइन हो, यद्यपि यो विषय निरन्तर छलफल र बहसको विषय भने रहनेछ ।
अन्त्यमा, आज मुलुक गम्भीर राजनीतिक अस्थिरता, अनिश्चितता र दलदलमा फसेको छ । राजनीतिक शक्ति सन्तुलनमा आएको परिवर्तनले राष्ट्रिय स्वाभिमान र शान्तिपूर्ण आन्दोलनका उपलब्धिमाथि प्रश्न उठाएको छ । यो आर्थिक मन्दीले जन्माएको असन्तुष्टि र अराजकताले समाज भड्काएर सिस्टम नै कोल्याप्स हुनेतर्फ देश धकेलिइरहेको हाम्रो ठहर छ ।
यस्तो अवस्थामा एमालेको पहिलो र प्रमुख एजेन्डा भनेको देश बचाउने, राष्ट्रिय स्वाभिमान बचाउने र राष्ट्रलाई अखण्ड राख्ने हो । कुनै पनि सानो स्वार्थको पछि लागेर राष्ट्रलाई नोक्सान हुन दिन एमाले तयार छैन । यो अस्थिरतालाई छिटोभन्दा छिटो अन्त्य गर्न आवश्यक छ । सरकार फेर्ने मात्र होइन, वैधानिक र विधिगत ढंगले संकटको निकास खोज्नुपर्छ ।
हामी विश्वास गर्छौं कि, देशलाई सही दिशामा लैजानका लागि संसद् पुनःस्थापना गर्ने, जेनजीसहितको राष्ट्रिय सरकार गठन गर्ने र संसद्लाई कानुन निर्माण तथा जनताका माग सम्बोधन गर्ने थलोका रूपमा स्थापित गर्ने विगतको हाम्रो प्रस्ताव सही थियो । अहिले पनि मुलुकलाई बलियो बनाउन, नेपालीको सान उच्च पार्न र विधिसम्मत बाटोबाट अगाडि बढ्नका लागि संसद्भित्रका सबै दलहरूले गम्भीरतापूर्वक सोच्नु अपरिहार्य छ ।
यस महाधिवेशनले मुलुकको संकटमोचन गर्न सक्ने, एकता र संकल्पले भरिएको नेतृत्व दिएर राष्ट्रिय राजनीतिमा सकारात्मक हस्तक्षेप गर्नेछ भन्नेमा म पूर्णतः विश्वस्त छु । – कुराकानीमा आधारित









Facebook Comments