काठमाडौँ । नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)ले भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा भएको व्यापक अनियमितता सम्बन्धी मुद्दामा पक्राउ गरी करिब १३ करोड ५७ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजनीतिक पहुँचका कारण पटक पटक जोगिँदै आएका अधिकारीमाथि भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा पनि अनियमितता गरेको आरोप लागेको थियो । यसपटक जेनजी विद्रोहपछि बनेको सरकारले ठूला माछा पकड्ने रणनीति बनाए पनि अधिकारीलाई भने चोख्याउनकै लागि पक्राउ गरिएको अख्तियार स्रोतले देशान्तरलाई बतायो । ‘सरकारले पटक पटक पक्राउ गर्न दबाब दिए पछि बाध्य भएर ठूला काण्डमा भन्दा पनि नलिनचोकको हेलिप्याड कान्डमा हिरासयतमा लिएका हौं ।’ स्रोतले भन्यो । 

महानिर्देशक अधिकारीमाथि भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माण मा अनियमितता गरेको आरोप लागेको छ । अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा अधिकारीसहित क्यानका पूर्व–निर्देशक मुरारी भण्डारी र अन्य ६ जना व्यक्ति तथा एक कन्सल्टिङ कम्पनी (अभियन्ता कन्सल्टिङ प्रा. लि.) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ad

नलिन्चोक हेलिप्याड निर्माण प्रक्रियामा अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन नगरी बदनियतपूर्ण निर्णय लिइएको, सार्वजनिक सम्पत्तिको हानी–नोक्सानी गरेको, कानूनी प्रावधान उल्लङ्घन गरेको र मिलेमतो बाट भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । अख्तियारले हरेक प्रतिवादीसँग १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरेको छ । क्यानको ३२ रोपनी जग्गामा निर्मित हेलिप्याड परियोजनाको आवश्यकता र लागत माथि सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो । कन्सल्टेन्सी छनोटदेखि अध्ययन प्रतिवेदन तयार पार्दासम्म हरेक चरणमा अनियमितता भएको अख्तियारको आरोप छ ।

महानिर्देशक अधिकारीको पक्राउ र निलम्बनसँगै सरकारले तत्काल मुकेश डंगोललाई कार्यवाहक महानिर्देशकको जिम्मेवारी दिएको छ । अधिकारीमाथि नलिन्चोक हेलिप्याडबाहेक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अर्बौं रुपैयाँको आर्थिक अनियमितता, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका अन्य परियोजनामा समेत अनियमितता गरेको आरोप लाग्दै आएको थियो । यसअघि नै संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल अनियमितता प्रकरणमा संलग्न उच्च अधिकारीहरूमाथि अनुसन्धान गर्न सिफारिस गर्दै तत्काल प्रदीप अधिकारीलाई निलम्बन गर्न माग गरेको थियो ।

अख्तियारले मुद्दा दायर गरेपछि विशेष अदालतमा अधिकारीको बयान लिने क्रम सकिएको छ । यद्यपि, शुक्रबार अधिकारीको मुद्दाको सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ । विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेलले अधिकारीसँग जोडिएको अर्को मुद्दामा यसअघि फैसला सुनाएका कारण उनले सुनुवाइबाट आफूलाई अलग गरेका हुन् । अब अधिकारीको थुनछेक बहस आज आइतबारका लागि तोकिएको छ ।