
काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशन जति नजिक आईरहेको छ त्यति नै पार्टीमा बढ्दो धु्रवीकरणले यही मंसिर २७ देखि २९ गतेसम्म तोकिएको महाधिवेशनमा तीब्र प्रतिस्पर्धा हुने देखिए पनि दुई कार्यकाल अध्यक्ष भए पनि फेरि तेस्रो कार्यकाल पनि पार्टी नेतृत्व लिन तम्सिएका वर्तमान अध्यक्ष केपी ओली पक्षले व्यापक धाँधली गरेको आरोप अर्को पक्षले लगाएको छ । अध्यक्षकै अर्का प्रत्याशी हुन खोजेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । दुवै पक्ष अहिले एक अर्कोको प्यानल हेरेर आफ्नो प्यानल सार्वजनिक गर्ने रणनीतिमा देखिएपछि घोषणामा ढिलाई भईरहेको एमाले निकट उच्चस्रोतले जनाएको छ । पार्टीका तल्लो तहदेखि माथिल्लो तहसम्मका अधिवेशन प्रक्रियाहरू मा अध्यक्ष ओली पक्षले खुला हस्तक्षेप गरेको भन्दै असन्तुष्टिले चरम रूप लिएको छ । विशेषगरी, प्रतिनिधि छनोट गर्दा विपक्षी वा फरक विचार राख्ने समूहका नेता तथा कार्यकर्ताहरूलाई नियोजित रूपमा पाखा लगाउने र आफ्ना गुटका कार्यकर्ताहरूलाई मात्र सहभागी गराउने प्रवृत्ति बढेको भन्दै नेताहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् ।
ओखलढुंगा, चितवन, बाँके, बर्दिया, दाङ, सल्यान र डोटी लगायतका जिल्लाहरुमा महाधिवेशन छनोटका क्रममा विवाद देखिएको छ । महाधिवेशन प्रतिनिधि चयनमा आफ्नो पक्ष क्लीन स्वीप भएपछि ओखलढुंगामा ओली पक्षले पुनः निर्वाचन गर्न खोजेपछि उत्पन्न विवादको बिषयमा केही दिन अगाडि पोखरेलले ओलीलाई भेटेर आपत्ति जनाएका छन् । केही जिल्लाहरुमा छनोट भएका प्रतिनिधिहरुलाई पार्टीको संगठन विभागले अस्वीकार गर्दै पुनः निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकोमा पोखरेलले ओलीसमक्ष आपत्ति जनाएका छन् ।
प्रतिनिधि छनोटलाई लिएर केही जिल्लामा विवाद उत्पन्न भएपछि अध्यक्ष ओलीलाई भेट्न पोखरेल सचिव योगेश भट्टराईलाई समेत साथमा लिएर केही दिन अगाडि ओलीको अस्थायी निवास, भक्तपुरको गुण्डु पुगेका थिए ।
महाधिवेशन नजिकिएसँगै एमालेमा तनाव उत्पन्न हुँदै आएको छ । शुक्रबार प्रतिनिधि छनोटको विवाद चर्किंदा दुई पक्षबीच हात हालाहालकै स्थिति देखापर्यो । आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगी संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहँदा अर्को समूहसँग भनाभन र हात हालाहाल भएको थियो ।
यता ओली र पोखरेल दुवै पक्षमा आकांक्षाीहरु धेरै रहेकाले प्यानल बनाउन भने निकै सकस परिरहेको छ । पूर्वराष्ट्रपति बिद्या भण्डारीसहित उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईहरु अध्यक्ष पोखरेललाई जिताउने गरी प्यानल निर्माण गर्न छलफलमा व्यस्त छन् । ओली पनि आफ्नो अस्थायी निवास, गुण्डुमा प्यानल निर्माणका लागि आफ्ना पक्षधर नेताहरुसँग छलफल गरिरहेका छन् । ओलीले सबैलाई समेट्दै र सबैको भावना अनुसार आफूले सूची पार्ने र सबैले आफूले तयार पारेको सूचीमा भोट हाल्नुपर्ने बताउँदै आएको ओली निकट एक नेताले बताए ।
यसैबीच एमालेको प्रतिनिधि छनोटको आन्तरिक निर्वाचनलाई झण्डै ४८ प्रतिशत उसका संगठित सदस्यहरुले बहिस्कार गरेका छन् । गत मंसिर १३ गते १६५ निर्वाचन क्षेत्रमध्ये ५८ क्षेत्रमा मतदान प्रक्रियाबाट प्रतिनिधि चयन भएकोमा ४७ प्रतिशत केन्द्रीय सदस्यहरु निर्वाचनमा सहभागी नभएकोमा एमालेका नेताहरुले आश्चर्य व्यक्त गरेका छन् । कतिपय राजनीतिक विश्लेषकहरुले यस्तो हुनुमा पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास कमजोर भईरहेको भन्ने रुपमा टिप्पणी गरेका छन् ।









Facebook Comments