सात दशक लामो इतिहास बोकेको नेपाली राजनीतिको ऐतिहासिक  र लोकतान्त्रिक दल नेपाली कांग्रेस अन्ततः डेढ महिना लामो रस्साकस्सीपछि आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने गरी तय गर्न सफल भए पछि महाधिवेशनले पार्टीभित्र देखिएको नेतृत्व र नीतिगत गतिरोधलाई चिर्ने आशामा युवा पुस्तामा केही उत्साहको सञ्चार भएको छ । तर, यो महाधिवेशन केवल पदाधिकारी चयन गर्ने कर्मकाण्डी मात्र होइन, कांग्रेसको इतिहासको रक्षा र भविष्यको दिशानिर्देश गर्ने एउटा निर्णायक मोड भएकोले पार्टी सच्चिने उपयुक्त अवसरको रुपमा लिनुपर्छ । 

नेपाली कांग्रेसको आन्तरिक जीवनमा सबैभन्दा पेचिलो विषय भनेको पुस्तान्तरण हो । युवा पुस्ताको सशक्त आवाजले नीति र नेतृत्व नबदली फागुन २१ को आम चुनावमा जान नहुने अडान राखेकै कारण महाधिवेशनको तालिका सार्वजनिक भएको हो । तर पार्टीकै प्रवक्ताको जिम्मेवारीमा रहेका व्यक्तिले महाधिवेशन पुसमा हुन सक्दैन भन्दै अभिव्यक्ति दिनुलाई भने आम कांग्रेसीले सहजरुपमा भने लिएका छैनन् । 

ad

लोकतान्त्रिक पार्टीको रूपमा रहेको कांग्रेसले परिवर्तित समयको माग र विश्वव्यापी राजनीतिको धार अनुसार आफ्ना नीतिहरू पुनरावलोकन गर्न नसक्दा पार्टीमा विभिन्न समस्याहरू देखिएका छन् । विगतमा नेतृत्व केन्द्रीत संरचना प्रचलनमा आएका कारण ‘नेतृत्वको जबर्जस्त निर्णय’ सधैँ हावी हुँदै आयो । यसले गर्दा पार्टीभित्र लोकतान्त्रिक मूल्यको नाममा अधिनायकवाद, व्यक्तिवादी प्रवृत्ति, गुटबन्दी र अवसरवादले गहिरो जरा गाड्यो र विचार तथा नीतिभन्दा पद र पहुँचको राजनीति हावी भयो ।

१५औँ महाधिवेशनले यो प्रवृत्तिलाई जरैदेखि उखेल्नुपर्छ । पार्टीको आन्तरिक सुशासनलाई संस्थागत बनाउन पारदर्शिता, जवाफदेहिता, न्याय र निष्पक्षता कायम गर्ने नीतिगत व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने चुनौती कांग्रेससामु छ । जेन–जी आन्दोलन बाट पाठ सिक्दै कांग्रेसले आफूलाई नवयुवासँग जोड्ने र आमूल वैचारिक तथा सांगठनिक पुनर्निर्माण गर्ने एजेन्डा महाधिवेशनको केन्द्रमा राख्नुपर्छ ।

कांग्रेस आज पनि देशको बलियो र ठूलो पार्टी का रूपमा छ । लोकतन्त्रका लागि लडेको लामो इतिहास, देशव्यापी संगठन र बलियो जनाधार यसका पुँजी हुन् । तर, लामो समयदेखि नेतृत्वमा देखिएको अहम्ता र चरम गुटबन्दीको अन्त्य नै कांग्रेसलाई सच्चिनका लागि पहिलो सर्त हुनुपर्छ ।

१५औँ महाधिवेशन केवल पदाधिकारी र सदस्यहरू चयन गर्ने प्रक्रिया नबनोस् ।  यो महाधिवेशन पार्टीलाई पुनर्जागृत गर्ने, वैचारिक स्पष्टता दिने संगठनात्मक सबलीकरण गर्ने र नीतिगत आधुनिकीकरण मार्फत आमूल परिवर्तनको प्रक्रिया सुरु गर्ने कोसेढुङ्गा सावित हुनुपर्छ । लोकतन्त्रमा विश्वास गर्ने कांग्रेसले अब व्यक्तिवाद त्यागेर सामूहिक नेतृत्व र विचारको सर्वोच्चता लाई स्थापित गर्नैपर्छ ।

यो महाधिवेशन कांग्रेसका लागि महत्वपूर्ण अवसर हो । यस अवसरलाई आत्मसात गर्दै पुरानो विरासतको बोझ बिसाएर, नयाँ पुस्ताको ऊर्जासहित अगाडि बढ्नु नै नेपाली कांग्रेसका लागि श्रेयस्कर हुनेछ । अन्यथा, यो पुरानो लोकतान्त्रिक दल इतिहासको पुरातनपन्थी छायाँमा सीमित हुने जोखिम अझै कायमै रहेकाले नेपाली कांग्रेसका आम कार्यकताले समयमै नेतृत्वलाई घचघच्याउन जरुरी छ ।