
म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ ।
पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिनुभयो ।
“गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले घरबास सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “पर्यटकको चाप बढेपछि थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ ।”
पाहुना राख्नका लागि होमस्टे सञ्चालकले घरमा छुट्टै कोठा बनाएका छन् । खाट, बेड, विस्तार र शौचालयलाई व्यवस्थित गरेका छन् । एउटा घरमा एकदेखि दुईवटा कोठामा पाहुनाका लागि व्यवस्था गरिएको छ । घरका कोठाबाटै हिमाल देख्न सकिन्छ ।
तोरीपानी प्रकृति र संस्कृतिका साथै जैविक विविधता र ऐतिहासिक हिसाबले पनि महत्त्वपूर्ण छ । विभिन्न जातजातिको मिश्रित बसोबास छ । उनीहरूको संस्कार, रहनसहन र ग्रामीण जीवनशैलीमा रमाउन सकिन्छ । पाहुनालाई स्थानीय गौरीया गुडुरा जातको धानको भात, कोदो र फापरको पीठोको ढिडो तथा रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध, दहीका परिकारको स्वाद चखाइने होमस्टे सञ्चालक युव गिरीले बताउनुभयो ।
“गाउँमै उत्पादन भएको खाद्यान्न, तरकारी, फलफूल र पशुजन्य उत्पादनको परिकारको स्वाद चखाउँछाँै”, उहाँले भन्नुभयो, “पर्यटकले यानीमाया, पञ्चेबाजा र भजनमा नाच्न पाउँछन् ।” पाहुनाका लागि होमस्टे सञ्चालकहरूले आफैँ तरकारीखेती, कुखुरा र गाईभैँसीपालन गरेका छन् ।
तोरीपानी मसलेदार फल टिमुरको पकेट क्षेत्र हो । टिमुरको चटनी सयपत्री होमस्टेको विशेष परिकार हो । फर्कँदा पाहुनालाई टिमुर, भटमास र भागो कोसेली दिने गरिएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताउनुभयो । रु एक हजार ५०० खर्चमा एक रात बास बस्न सकिन्छ ।
होमस्टे सञ्चालनका लागि इको हिमालय संस्थाले तालिम र पूर्वाधार निर्माणमा सहयोग गरेको छ । संस्थाका निर्देशक नारायण ढकालले प्रतिघर रु ७० हजारबराबरको सामग्री र समूहलाई रु दुई लाख सहयोग गरेको जानकारी दिनुभयो । इको हिमालयले तोरीपानीमा टिमुरखेती विस्तार, गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्दै आएको छ ।
समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथी हिमशृङ्खला देखिन्छ । सूर्योदय र सूर्यास्तको समयमा हिमालको मनमोहक दृश्य देखिन्छ । बेनी बजारदेखि नौ किलोमिटर उत्तरतर्फ रहेको तोरीपानीमा बेनीदेखि करिब ३० मिनेट सवारीसाधनमा यात्रा गरेपछि पुगिन्छ । बेनीदेखि अर्थुङ्गे, जामुनाखर्क हुँदै किराखोरसम्म पाँच किलोमिटर सडक पक्की छ । किराखोरदेखि नेप्टेचौर जोड्ने करिब दुई किलोमिटर सडक कालोपत्र भइरहेको छ । नेप्टेचौरदेखि तोरीपानी जोड्ने थप दुई किलोमिटर सडक ग्राभेल गर्न पूर्वाधार निर्माणाधीन अवस्थामा छ ।
तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल पछै छन् । ढोलथानामा बाइसेचौबिसे राज्यका पालामा बर्खायामको राजधानी थियो । दरबारका भग्नावशेष अझै देख्न सकिन्छ । तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ । फेदीमा मुक्तिक्षेत्रको प्रवेशद्धारका रूपमा परिचित गलेश्वर शिवालय मन्दिर छ ।









Facebook Comments