काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता नवीकरण गर्ने तयारीप्रति आपत्ति जनाउँदै आज सामाजिक सञ्जालमार्फत म्याद सकिएको सम्झौता पुनः थप्ने कार्य राष्ट्रियता र जनतामाथिको घात हुने टिप्पणी गरेका छन् । 

रावलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी ‘डेकाटोर’ सँगको सम्झौता म्याद सकिएपछि पनि थप्न लागेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

ad

उनले सो सम्झौताले नेपाली नागरिकका व्यक्तिगत विवरणहरू विदेशी कम्पनीको हातमा पुग्ने खतरा रहने बताएका छन् । देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने संवैधानिक व्यवस्था विपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गरिएको प्रति पनि उनले आपत्ति जनाए।

यसैगरि, अत्यन्तै महँगो शुल्क तोकेर नेपाली जनतामाथि आर्थिक लुट मच्चाएको उनको भनाई छ । उनले जनविरोधी सम्झौतालाई निरन्तरता नदिन समेत सरकारलाई सचेत गराएका छन्।