
मधेश प्रदेशमा प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन दलहरू अनौपचारिक रूपमा सहमत भएका छन् । यसो हुँदा कांग्रेसबाट कृष्ण यादव मुख्यमन्त्री बन्ने छन् ।
मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारविरुद्ध सडक र संवैधानिक मोर्चामा एकसाथ सघर्ष गरेका सात दलबीच अनौपचारिक छलफल भइरहेको हो ।
मुख्यमन्त्री यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गरेको छ ।
उक्त उपधारामा दुई वा दुईभन्दा बढी दलहरू सहमत भई सरकार बनाउन सक्ने व्यवस्था छ । त्यही अनुसार कांग्रेसलाई अघि सारेर सहमति जुटाउने प्रयास भइरहेको छ ।
कांग्रेसबाहेक ६ दल पहिला एमाले नेतृत्वको सरकारको विरुद्धमा थिए । कांग्रेस र एमाले एउटै मोर्चामा थिए । तर, संसदको ठूलो दलको हैसियतमा एमालेले दलका नेता सरोज यादवलाई मुख्यमन्त्री बनाउने संकेत पाएपछि कांग्रेसले एमालेको साथ छोडेको थियो ।
एमालेको साथ छोडेपछि ६ दलसँग मिलेर कांग्रेसले सडकदेखि अदालतसम्म साथ दिएको थियो ।
अन्य ६ दलभन्दा ठूलो कांग्रेस भएकोले पनि उसको नेतृत्वमा सरकार बन्नसक्ने एक सांसदले जानकारी दिए । ती सांसदले मुख्यमन्त्रीका लागि जसपाले पनि दाबी गरिरहेको खुलाए । तर, कांग्रेसलाई अघि सारेपछि जसपा सहमत हुने सम्भावना छ । लोसपा, जनमत, माओवादी केन्द्र र एस भने मुख्यमन्त्री दाबी गर्ने अवस्थामा छैनन् ।









Facebook Comments