
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार एक अनौठो घटना भयो- बहसका क्रममा अधिवक्ता सुलभ खरेल अचानक ढले। सामाजिक सञ्जालमा न्यायालयसम्बन्धी टिप्पणीका कारण न्यायाधीशको प्रश्नोत्तर चलिरहेकै अवस्थामा उनी मानसिक रूपमा तनावमा पुगेका थिए।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासमा खरेल अर्को मुद्दामा बहसका लागि उपस्थित भएका थिए। आफ्नो परिचय दिएर बहस सुरु गर्न लागेका खरेललाई इजलासले रोक्दै भदौ २४ गतेको अदालत तथा बार भवनमा लागेको आगजनीपछि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको टिप्पणीबारे स्पष्टिकरण माग्यो।
प्रधानन्यायाधीश राउतले सोधे, 'कानुन व्यवसायीको मर्यादा भन्दै गर्दा अदालतमा आगजनी हुँदा तपाईं किन खुसी हुनुपर्ने ? त्यस दिन सामाजिक सञ्जालमा लेखिएको तपाईंको टिप्पणीको आधार के हो ?'
लगातार प्रश्न दोहोरिएपछि अधिवक्ता खरेल बोल्नसमेत नसक्ने अवस्थामा पुगे। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले माहोल शान्त बनाउन प्रयास गरे पनि तनाव झनै बढ्दै गयो। अन्ततः अधिवक्ता खरेल उभिएको ठाउँमै ढले।
इजलासमा रहेका कानुन व्यवसायीहरूले उनलाई उठाएर पानी खुवाएपछि मात्र होसमा फर्काए। त्यसपछि उनी इजलास कक्षकै कुर्सीमा बस्न सके।
न्यायाधीश सपना प्रधान मल्लले पनि कानुन व्यवसायीको मर्यादा र जिम्मेवारीबारे थप प्रश्न उठाइन्। उनले भनिन्,'भदौ २४ को स्थिति सबैलाई थाहा छ। न्यायालयमाथि भएको आक्रमणलाई खुलेआम समर्थन गर्नु उचित हुन्छ ? अदालत र न्यायाधीशलाई पार्टीको आधारमा गाली गर्न मिल्छ ?'
घटना शान्त भएपछि वरिष्ठ अधिवक्ता भट्टराईले सबै रिटलाई एकैसाथ सुनुवाइका लागि प्राथमिकतामा राख्न आग्रह गरे। इजलासमा बसिरहेका अन्य अधिवक्ताहरूले पनि आफ्नो नाम टिपाए।
पछि अधिवक्ता खरेललाई मुख्य रजिष्ट्रार विमल पौडेलले कार्यालयमा लगे र शान्त वातावरणमा छलफल गर्दै चिया खुवाएर फर्काए।
खरेलको विवादास्पद पोस्ट
भदौ २४ मा सर्वोच्च अदालत र नेपाल बार भवनमा आगजनी भएको दिन अधिवक्ता खरेलले फेसबुकमा लेखेका थिए—
'अदालत र बार जल्दा मेरो मन एक रत्ती पनि रोएन।'
'त्यही अदालतमा म शेरबहादुर र ओलीका अनुहार देख्छु, मेरा आँखामा उनीहरू संवैधानिक चोर हुन्।'
'न्यायाधीश तथा बार नेतृत्व सामूहिक रूपमा राजीनामा दिनुपर्छ। अब न्यायालयको भविष्य म लेख्नेछु।'
उनको उक्त पोस्टलाई लिएर कानुनी समुदायमै विवाद चर्किएको थियो। वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतसहितका कानुन व्यवसायीहरूले उनलाई सचेत गराउने टिप्पणीसमेत गरेका थिए।
बुधबारको घटनापछि बहस केही समय प्रभावित भए पनि इजलासले काम पुनः सुचारु गरेको छ।









Facebook Comments