
इटहरी । कांग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय नेपाली गरेको छ।
बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, हिंसा भड्काउने र अराजक गतिविधिलाई प्रोत्साहित गर्ने व्यक्तिहरूको नाम वडाबाटै संकलन गरी सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए।
कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार, जिल्ला स्तरमा संकलन भएको विवरणका आधारमा प्रदेश कार्यसमितिले समेत केन्द्रीय समितिमा सिफारिस गर्नेछ। 'गलत कार्य गर्ने व्यक्तिलाई पार्टीले संरक्षण गर्दैन, खोजीखोजी निस्कासनसम्म गरिन्छ,' उनले भने।
जेनजी आन्दोलनका क्रममा सुनसरीमा ठूलो मात्रामा क्षति भएको तथ्यांक प्रशासन कार्यालयले सार्वजनिक गरेको छ। जिल्लाका ३३ सरकारी कार्यालयमा तोडफोड र आगजनी हुँदा एक अर्ब १७ करोड ३ लाखभन्दा बढीको क्षति भएको छ। निजी क्षेत्रका क्षतिबारे तथ्यांक संकलन भइरहेको प्रशासनको भनाइ छ।
आन्दोलनका क्रममा कांग्रेस, एमाले र माओवादी केन्द्रका विभिन्न नेताको निजी घर र पार्टी कार्यालयमा समेत आक्रमण भएको थियो। इटहरीका मेयर हेमकर्ण पौडेलको डेढ तले पक्की घरदेखि धरानका पूर्व नगरप्रमुख मनोज मेन्याङ्वो, पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व सांसद जयकुमार राईलगायतका घरमा तोडफोड भएको थियो।
धरानस्थित भाटभटेनी सुपरमार्केटमा आगजनी भएको थियो भने इनरुवामा कांग्रेस नेता तथा निर्वाचित जनप्रतिनिधिहरू अयुव अन्सारी, केदार भण्डारी, सुजेन्द्र गोले तामाङ, एमाले नेता भीम आचार्यलगायतका घरहरू पनि क्षतिग्रस्त बने।
आन्दोलनकै क्रममा भदौ २३ गते इटहरीका मोहन सरदार र अभिषेक श्रेष्ठको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। भोलिपल्ट भदौ २४ मा व्यापक रूपमा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याइएपछि कांग्रेसले संलग्न व्यक्तिको विस्तृत विवरण संकलन गर्न निर्देशन दिएको हो।
कांग्रेस सुनसरीले शान्तिपूर्ण आन्दोलनको अधिकार स्वीकार्य भए पनि अराजकता, आगजनी र तोडफोडलाई पार्टीले कुनै हालतमा नबोझ्ने स्पष्ट गरेको छ।









Facebook Comments