काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई आज पक्राउ गरेको छ । शाक्यलाई सीआईबीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ । सोही प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रहरी हिरासतमा छन् ।

ad

शेरचनबारेको अनुसन्धानका क्रममा शाक्यलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरेको थियो । रेमिट्यान्स कारोबार र धरौटीबापतको रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहित विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।