
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीलाई सहज र सुरक्षित बनाउनका लागि भर्चुअल डलर आईकार्ड प्रचलनमा ल्याएको छ ।
यो कार्ड पूर्ण रूपमा अमेरिकी डलरमा आधारित भर्चुअल डेबिट कार्ड हो, जसले विशेषगरी विदेशी वेबसाइटहरूमा सदस्यता शुल्क तिर्न, ई–कमर्सबाट सामान खरिद गर्न र अन्य डिजिटल सेवाहरूको भुक्तानी गर्न मद्दत पुर्याउने बैंकले जनाएको छ ।
यो कार्डको मुख्य आकर्षण भनेको यसको १०० प्रतिशत भर्चुअल प्रकृति हो, जसले गर्दा भौतिक कार्डको आवश्यकता पर्दैन। यस कार्डबाट कारोबार अन्तर्राष्ट्रिय अनलाइन खरिदका लागि मात्र गर्न सकिन्छ र यसको प्रयोग नेपाल भारत र भुटानमा प्रयोग गर्न पाइने छैन ।
आईकार्डको वार्षिक टप–अप सीमा अमेरिकी डलर ५ सय निर्धारण गरिएको छ, यद्यपि यसले अमेरिकी डलर ५ हजारसम्म विप्रेषण प्राप्त गर्न सक्छ। यस कार्डको प्रयोग गर्नका लागि नबिल बैंकमा खाता हुनुका साथै मान्य प्यान कार्ड अनिवार्य छ।
सेवा शुल्कका सम्बन्धमा, यसको निष्कासन शुल्क नेपाली रुपैंयाँ ५ सय तोकिएको छ र प्रत्येक पटक टप–अप गर्दा पनि नेपाली रुपैयाँ ५ सय लाग्नेछ। एक पटकमा न्यूनतम १ अमेरिकी डलर टप–अप गर्न सकिन्छ। आवेदन दिन निकै सजिलो छ, ग्राहकहरूले नबिल बैंकको एपमा लग–इन गरी, प्यान कार्ड अपलोड गरेर आवेदन दिन सक्छन्, र कार्ड २ घण्टाभित्रै जारी हुन्छ। सुरक्षाका लागि यसमा थ्रीडी सेक्योरको सुविधा पनि उपलब्ध छ।
यो भर्चुअल डलर आईकार्डले नेपाली उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय अनलाइन कारोबार गर्नको लागि सरल र कानूनी माध्यम प्रदान गरेको बैंकले जनाएको छ ।








Facebook Comments