
काठमाडौं । राष्ट्र, राष्ट्रियता र संस्कृतिको रक्षा भन्ने मूल नारासहित आन्दोलन अघि बढाइरहेको दुर्गा प्रसाईं नेतृत्वको अभियान फेरि सिंहदरबार पुगेको छ। प्रसाईं आफ्नो टोलीसहित गृहमन्त्री ओमप्रकाश अर्यालसँग तेस्रो चरणको वार्तामा सहभागी भएका छन्।
यसअघि सरकार र अभियानबीच ६ मंसिरमा पहिलो औपचारिक वार्ता भएको थियो। त्यसको भोलिपल्ट, ७ मंसिरमा सुरु भएको अनिश्चितकालीन आन्दोलन भने सरकारले १५ दिनभित्र प्राथमिक माग सम्बोधन गर्ने आश्वासन दिएपछि स्थगित भएको थियो। ती दुबै चरणमा संयोजक प्रसाईं थुनामा रहेकाले प्रत्यक्ष सहभागी हुन सकेका थिएनन्।
प्रसाईं धरौटीमा रिहा भएपछि आन्दोलन पुनः सक्रिय बने। नेतृत्व पुनः सम्हालेसँगै सरकारले दिएको आश्वासनको प्रगति खोज्न उनका कदम फेरि सिंहदरबारसम्म पुगेका हुन्।
अभियानका २७ बुँदागत मागमा शासन सुधारदेखि धार्मिक संरक्षण, जनमतसंग्रहको माग, आर्थिक पारदर्शिता, सामाजिक न्याय र ‘राष्ट्रपहिचान’ सम्बन्धी संरचनागत परिवर्तनजस्ता विषय छन्। यही मागका आधारमा ७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरिएको थियो।
गृहमन्त्रीसँगको मंगलबारको भेटवार्तामा सरकारले अघिल्ला चरणमा गरेको प्रतिबद्धता कत्तिको कार्यान्वयनमा छ, बाँकी मुद्दा कसरी अघि बढ्ने, तथा सार्वजनिक सुरक्षासँग जोडिएका संवेदनशील बुँदाहरूमा कस्तो सहमति सम्भव छ ? यस्ता विषयमा छलफल केन्द्रित भएको सरकारी स्रोतले जनाएको छ।
वार्तामा दुबै पक्षबीच समन्वय र सहजीकरणमा अधिवक्ता विनोदमणि भट्टराई र अधिवक्ता लबन न्यौपाने सक्रिय छन्। पहिलेका दुई चरणमा पनि उनीहरूले संवाद सहज बनाउने भूमिका खेलेका थिए।
प्रसाईं रिहा भएपछि आन्दोलन र सरकार दुवैपक्ष संवादमै लचिलो देखिएको राजनीतिक विश्लेषकहरूको मूल्यांकन छ। स्थगित आन्दोलन पुनः उठ्ने कि समाधानको दिशातर्फ अघि बढ्ने तेस्रो चरणको यो वार्ताले नै मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।









Facebook Comments