
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। शुक्रबार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सार्वजनिक रुपमा माफी माग्दै सर्वसम्मत निर्णय नबनुन्जेल बैठक सारिरहनुपर्ने बाध्यता दोहोर्याए।
खड्काले बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, 'माफ पाऊँ सबैसँग, बैठक सारेकोमा। गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नुहुन्छ। जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु। म कार्यवाहक रहेसम्म।'
२८ असोजदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक महाधिवेशनको मितिबारे एकमत नबनेका कारण पटक–पटक स्थगित हुँदै आएको छ। सोही दिन सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर, खड्काले कुनै पनि निर्णय एकमतबिना नगर्ने अडान लिँदा छलफल निष्कर्षमा पुग्न सकेको छैन। यसैबीच उपचारका लागि सिंगापुर गएका देउवा २८ कात्तिकमा फर्किएपछि पनि बैठक सम्भावित सहमतिको प्रतीक्षामै छ।
देउवा फर्किएपछि पार्टीभित्र संवादको दायरा थपिएको छ तर नतिजा भने अझै देखिएको छैन। बिहीबार र शुक्रबार देउवा शीर्ष नेताहरूसँग छुट्टाछुट्टै संवादमा बसे पनि महाधिवेशनको मोडलमा एकजुटता बन्न सकेको छैन। पूर्वपदाधिकारीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला, विजय गच्छदार र डा. प्रकाशशरण महत २१ फागुनपछि मात्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। तीमध्ये कोइराला र गच्छदार नयाँ नेतृत्वको विकल्पसहित चुनावमा जान खुला देखिए पनि निधि र सिटौला कडाइका साथ आफ्नै धारमा अडिग छन्।
शुक्रबार संस्थापन पक्षको भेलामा खड्काप्रति अविश्वास नगर्न नेताहरूलाई आग्रह गरिएको सहभागीहरूले बताएका छन्। 'कार्यवाहक सभापतिलाई शंका नगरौँ, उहाँ हाम्रै समूहका नेता हो,' बैठकमा सहभागी एक नेताले भनेका छन्।
खड्काले बारम्बार पार्टी विभाजनतिर लैजाने एजेन्डा नल्याउने प्रतिबद्धता सार्वजनिक गरेका छन्। सहमति जुटाउन असफल भए कार्यवाहक पदबाटै राजीनामा दिन सक्ने संकेत उनले आफ्नै नजिकका नेताहरूसँग राखिसकेका छन्। यही कारण संस्थापन समूहले खड्कामाथि ‘विश्वास कायम राख्न’ निर्देशनजस्तै दिएर झनै ध्यानाकर्षण गरेको हो।
तर खड्का अहिले दुईवटा दबाबबीच छन् : एकातिर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पेस गरेको विशेष महाधिवेशनको माग, जसलाई सभापति देउवाले समेत नजरअन्दाज नगर्न सुझाएका छन्। अर्कोतर्फ विशेष महाधिवेशन चाहने पक्ष संवादमा सहज भएर नआउँदा सहमतिको वातावरण अझै बन्न सकेको छैन।









Facebook Comments