काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको प्रतिस्पर्धा चर्किन थालेको छ। 

यही पृष्ठभूमिमा शुक्रबार गुन्डुबाट सार्वजनिक भएको एक सूचनाले पार्टीभित्र बलियो तरंग पैदा गर्यो। सूचनामा मध्यमार्गी भनिने १८ पदाधिकारीमध्ये सातजनाले ओलीतर्फ खुलेको दाबी गरिएको थियो। तर सो दाबी सार्वजनिक भएको केही बेरमै पदाधिकारीहरूकै प्रतिक्रियाले यसलाई विवादास्पद बनाइदिएको छ।

ad

शुक्रबार काठमाडौँमा बसेको भनिएको बैठकले सात पदाधिकारीले अध्यक्ष ओलीलाई साथ दिने निर्णय गरेको बताइएको थियो। तर तीमध्ये धेरैजना त्यसबेला उपत्यकाबाहिर रहेका थिए। सचिव रघुवीर महासेठ जनकपुरमा थिए । 

सचिव लेखराज भट्ट कैलालीमा रहेको पुष्टि भयो । सचिव पद्मा अर्याल स्वास्थ्य समस्या भएर घरमै आराम गरिरहेकी थिइन्। तीमध्ये कसैले पनि काठमाडौँमा बसेको भनिएको बैठकका बारेमा जानकारी नरहेको बताउँदै सूचनाको विश्वसनीयतामै प्रश्न उठाए।

सार्वजनिक भएको दाबीलाई लिएर पोखरेल पक्षीय नेताहरूले कडा असन्तुष्टि जनाएका छन्। उनीहरूले गुन्डुमार्फत जानकारी चुहाएर मनोवैज्ञानिक लाभ लिन खोजिएको आरोपसमेत लगाए। उनका अनुसार, महाधिवेशन प्रतिनिधि छनोटअघि नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले ‘मिडिया ट्रायल’ गरिएको छ। 

सचिव महासेठले आफू सहभागी नै नभएको छलफलको निर्णय आफूले गरेको भनेर प्रवाह गरिएको सूचनाप्रति आपत्ति जनाए। यस्तै, कैलालीस्थित धनगढीमा रहेका सचिव लेखराज भट्टले आफ्ना कार्यकर्ता तथा प्रतिनिधिहरूलाई फोनमार्फत ‘भ्रममा नपर्न’ आग्रह गरेको पोखरेल पक्षले जनाएको छ।

यतिरहँदा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू उपाध्यक्षमा उठ्ने गरी अध्यक्ष ओलीलाई साथ दिन तयार भएको बताएका छन्। उनले अहिलेको परिस्थितिमा ओलीको विकल्प नभएको पनि बताए। तर उनले पनि शुक्रबार काठमाडौँमा पदाधिकारीहरूबीच औपचारिक छलफल भएको दाबीबारे अनभिज्ञता नै व्यक्त गरे।

गुन्डुबाटै सार्वजनिक गरिएको ‘सात पदाधिकारी ओलीसँग खुले’ भन्ने सूचनाले एमालेभित्र शक्ति–समीकरण बदलिँदै गएको संकेत दिएको जस्तो देखिए पनि त्यसैपछिका प्रतिक्रियाले पार्टीभित्रको असन्तुलन झन् सतहमा आएको छ। 

महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीहरूबीचको समर्थन–दाबी, प्रतिदाबी र सूचनाको यथार्थताबारे उब्जिएका प्रश्नले एमालेभित्रको अन्तरिक बहस अझ चर्काउने संकेत दिएको छ।