काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ मंसिरदेखि अद्यावधिक(चुच्चे) नक्सा समेटिएको १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएपछि भारतीय सञ्चारमाध्यममा व्यापक प्रतिक्रिया देखिएको छ।

नेपालले जारी गरेको नोटमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राखिएको खबर बाहिरिएलगत्तै भारतका प्रमुख पत्रपत्रिका र अनलाइन पोर्टलहरूले लगातार समाचार प्रकाशित गरेका छन्। धेरै भारतीय माध्यमले नेपालले ‘भारतको भूभाग समेटेर नोट छाप्यो’ भन्दै आलोचना गरेका छन्।

ad

भारतीय मिडियामा आलोचनाको लहर

दैनिक जागरण, दैनिक भास्कर, नवभारत टाइम्स, जी–न्यूज, लाइभ हिन्दुस्तानलगायतका अनलाइनले नोटमा देखिएको नक्सालाई विवादित भन्दै आलोचना गरेका छन्।

जागरणले नेपालले भारतले स्वीकार गर्न नसक्ने कदम चाल्यो भन्दै भारतीय विदेश मन्त्रालयको भनाइ उद्धृत गरेको छ।

भास्करले २०२० मा नेपालले पारित गरेको नयाँ नक्साबाट सुरु भएको विवाद फेरि मुद्रा मार्फत सक्रिय भएको टिप्पणी गरेको छ।

नवभारत टाइम्सले 'भारतप्रति कडाइ, चीनप्रति मौनता' भन्दै नेपाललाई राजनीतिक कोणबाट प्रस्तुत गरेको छ।
जी–न्यूज र लाइभ हिन्दुस्तानले ‘भारतको दाबी भएको भूभाग नोटमा राखेको’ भन्दै कडा भाषामा टिप्पणी गरेका छन्।

यसबारे भारतको आधिकारिक प्रतिक्रिया पनि भारतीय मिडियाले ‘अस्वीकार्य दाबी’ भन्दै प्रस्ट रूपमा प्रकाशित गरेका छन्।

नोटमा के–के छ ?

राष्ट्र बैंकका अनुसार नयाँ १०० रुपैयाँको नोट साविककै आकार र रङमा जारी गरिएको हो।
नोटमा समेटिएको विशेषता यसप्रकार छ :

अग्रभाग 

बायाँतर्फ सगरमाथाको चित्र

दायाँतर्फ लालीगुराँसको पानी छाप

मध्यभागमा सरकारद्वारा स्वीकृत अद्यावधिक नक्सा

अशोक स्तम्भ र ‘Lumbini, The Birth Place of Lord Buddha’

दृष्टिविहीनका लागि छोएर चिन्न मिल्ने चिन्ह

रङ परिवर्तन हुने सुरक्षा धागो

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत

तल्लो बोर्डरमा सिरियल नम्बर र ‘वि.सं २०८१’

पृष्ठभाग

माथिल्लो भागमा English मा Nepal Rastra Bank

एकसिङ्गे गैँडाको माउ र बच्चाको चित्र

तल्लो भागमा ‘Rupees One Hundred’

सिरियल नम्बर English मा ‘2024 AD’

नेपालको अडान : यो स्वाभाविक अद्यावधिक प्रक्रिया

नेपाल राष्ट्र बैंकले नोटमा राखिएको नक्सा सरकारले २०२० मा स्वीकृत गरेको अद्यावधिक राजनीतिक नक्सासँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको स्पष्ट पारेको छ।

राष्ट्र बैंकका अधिकारीहरूले यो नक्सा कुनै नयाँ दाबी नभई नेपालले अडान लिँदै आएको भूभागको औपचारिक प्रस्तुति मात्र भएको बताएका छन्।

नेपालमा नोटको सुरक्षा विशेषता र डिजाइनबारे चर्चा भइरहेका बेला भारतीय अनलाइनमाध्यममा भने मुख्य ध्यान नक्सा विवादतिर केन्द्रित भएको देखिन्छ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले मिचेको भूमि भएको दाबी गर्दै आएको छ । नयाँ नोट जारी भएपछि भारतमा उठेको प्रतिक्रिया दुई देशबीचको नक्सा–सम्बन्धी बहस फेरि सतहमा आएको छ।