
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई खुला उत्रने कि शान्त रूपमा पदबाट अलग हुने, दुवैमध्ये एक विकल्प छान्न आग्रह गरेका छन्।
बिहीबार सभापति देउवासँग भएको करिब एक घण्टाको संवादमा महामन्त्री थापाले कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको परिस्थितिमा देउवाले पार्टीका आन्तरिक निर्णयमा अनावश्यक हस्तक्षेप नगरिदिन अनुरोध गरे।
छलफलका क्रममा देउवाले विशेष महाधिवेशन गर्ने हो भने पार्टी विभाजनको जोखिम बढ्ने तर्क गर्दै नियमित महाधिवेशनमै समाधान खोज्नुपर्ने धारणा राखेका थिए। सिंगापुर उपचारबाट फर्किएपछि देउवाले पार्टीका विभिन्न नेतासँग निरन्तर छलफल गरिरहेका छन्, सोही क्रममा भएको यो संवाद निकै निर्णायक मानिएको छ।
संवादमा गगनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उदाहरण दिँदै देउवालाई प्रत्यक्ष मैदानमा उत्रन चुनौती दिए।
उनले भने, 'भदौ २४ मा केपी ओलीसँग साढे दुईजना मात्र थिए। तर उनीहरूलाई लिएर ओलीले पार्टीलाई महाधिवेशनतिर लगे र आज एमालेको ठूूलो पंक्ति उनको पछाडि उभिएको छ। तपाईंले त्यो अवसर गुमाउनुभयो। पहिलो दिनदेखि नै अगाडि आएर नेतृत्व गर्नुपर्थ्यो। अब पनि समय छ मैदानमा उत्रनुस्, हामी प्रतिस्पर्धा गर्छौँ।'
गगनले देउवालाई पर्दाअघि बसेर ‘निर्णय रोक्ने’ शैली नअपनाउन चेतावनी पनि दिए। उनले भने, 'कार्यवाहक तोक्नुभयो तर महत्वपूर्ण निर्णयहरू रोकिरहनुभएको छ। विशेष महाधिवेशनको मागलाई हल्का पार्ने प्रयास भइरहेको छ। यस्तो नहोस्। पार्टीलाई निकास दिएर ‘पिसफुल एक्जिट’ लिनुस्।'
बैठकमा संस्थापन पक्षले विशेष महाधिवेशन नगर्ने गरी विभिन्न विकल्प राखेको बताइन्छ। तर गगन थापाले ‘समयसीमा’ नै टेबलमा राख्दै स्पष्ट अडान व्यक्त गरे—
'पुस २७ भित्र नियमित महाधिवेशन, नभए पुस २८ मा विशेष महाधिवेशन, यही नै बटमलाइन हो।'
कांग्रेसभित्रको आन्तरिक द्वन्द्व चुलिँदै गएको बेला देउवा–गगन संवादले पार्टीभित्रको शक्ति–सन्तुलन कुन दिशातिर मोडिन्छ भन्नेबारे नयाँ बहस सुरु भएको छ।









Facebook Comments