
काठमाडौं । विदेशमा रोजगारीका लागि यात्रा गर्ने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले विशेष छुटसहितको नयाँ भाडादर योजना कार्यान्वयनमा ल्याएको छ।
निगमका अनुसार, काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर जाने उडानहरूमा श्रमिक यात्रुका लागि प्रत्येक फ्लाइटमा १० सिट छुटको दायरामा राखिनेछ। यी सीटहरूमा विद्यमान साधारण भाडादरबाट १० प्रतिशत सहुलियत दिइने निगमले जनाएको छ।
श्रमिक वर्गलाई किफायती र सहज हवाई सेवा उपलब्ध गराउने उद्देश्यले तयार गरिएको यो सुविधा नेपालस्थित निगमका टिकट काउन्टरमार्फत मात्र लिन सकिनेछ। टिकट बुकिङका क्रममा यात्रुले वैदेशिक रोजगारीसम्बन्धी आवश्यक कागजात पेश गर्नुपर्नेछ।
निगमले नयाँ भाडादर लागू भएपछि श्रम गन्तव्यतर्फ यात्रा गर्ने नेपालीहरूले प्रत्यक्ष रूपमा आर्थिक भार घट्ने विश्वास व्यक्त गरेको छ।
योजना सम्बन्धी थप विवरणका लागि यात्रुहरूलाई निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।








Facebook Comments