काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता सुरक्षित राख्न वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनु अत्यावश्यक रहेको बताएका छन्।

शुक्रबार धनगढीमा आयोजना गरिएको पार्टीको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै प्रचण्डले वाम ध्रुवीकरण अहिलेको राजनीतिक आवश्यकता भएको बताए। उनले नेकपा (एमाले)का नेता तथा कार्यकर्तालाई पनि समाजवाद उन्मुख यात्रामा एकीकृत हुन आग्रह गरे।

ad

प्रचण्डले भदौ २३–२४ को जेन–जी आन्दोलनमा आफू शुरुदेखि नै सकारात्मक रहेको दाबी गर्दै, आन्दोलनले उठाएका वैध मुद्दा सम्बोधन गर्न वाम एकता अघि बढाइएको स्पष्ट पारे।

कसैले चुनावी फाइदाका लागि एकता गरिएको आरोप लगाइरहे पनि त्यसमा कुनै सत्यता नभएको उनले बताए। कृषि, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा संरचनागत परिवर्तन सम्भव बनाउन कम्युनिस्ट र गैरकम्युनिस्ट दुवै शक्तिलाई समेटेर अघि बढ्ने अभियान सुरु भएको उनको भनाइ थियो।

सभामा प्रचण्डले भने, ‘हामी सबै वामपन्थी, विशेषतः एमालेभित्रका क्रान्तिकारी नेताहरूले गम्भीर भएर विचार गर्नुपर्ने समय आएको छ। देशको रक्षा, स्वाधीनता, भौगोलिक अखण्डता र जनताको सार्वभौमसत्ता जोगाउन अब वाम शक्तिहरू ध्रुवीकृत हुनैपर्छ।’

उनले जेन–जी आन्दोलनमा युवाले उठाएका मुद्दा आफूहरूले वर्षौँदेखि उठाउँदै आएको दाबी गर्दै त्यही मागलाई वैध ठहर गर्दै समर्थन गरिएको बताए।
‘२३ गतेको घटनामा भएको ठूलो जनहानि दुर्भाग्यपूर्ण भयो,’ उनले भने।

सभामा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि कटाक्ष गर्दै संसद विघटनलाई समर्थन गर्ने ओली अहिले उल्टो तर्क गर्दै सडकमा उभिनु विरोधाभाष भएको टिप्पणी गरे।