काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् ।

सो क्रममा उनले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्  । 

ad

यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो । साथै, निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी छन् ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।