
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका तीन केन्द्रीय सदस्यसहित १० जनाले पार्टी परित्याग गरेका छन्। पार्टी त्याग गर्नेहरूमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी, किस्मत विक, लुम्बिनी प्रदेश कार्यालय सचिव यज्ञ पोख्रेल, लुम्बिनी प्रदेश समिति सदस्य कृष्ण भण्डारी, भक्तबहादुर पुन (जलन) लगायत छन्।
उनीहरूले बिहीबार प्रेस विज्ञप्तिमार्फत पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी छाडेको घोषणा गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीमा औपचारिक रूपमा प्रवेश गरेको जानकारी दिएका हुन्।
‘अब हामीले बाबुराम भट्टराई, जनार्दन शर्मा प्रभाकर, राम कार्की, सन्तोष परियार नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेका छौँ। आज चारजना केन्द्रीय सदस्यसहित १० जनाले प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेको घोषणा गरे पनि यो क्रम निरन्तर अगाडि बढ्छ,’ क्षेत्रीले भने।
उनले विगतमा बाबुराम भट्टराईसँग नजिक रहेकाहरू अब एक ठाउँमा आउने क्रम सुरु भएको बताए।
प्रचण्ड नेतृत्वको हालको नेकपामा नीतिगत विचलन, आन्तरिक लोकतान्त्रिक अभ्यासको कमजोरी र वैचारिक अस्पष्टता रहेकाले प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेको उनले बताए।









Facebook Comments