
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले संगठनको नाममा चन्दा उठाएको आरोपमा आफ्ना चार कार्यकर्तामाथि कारबाही गरेको छ।
अभियानका अनुसार, गैरकानुनी रूपमा पीडितसँग पैसा असुलेर संगठनको बदनाम हुने काम गरेको भन्दै उनीहरूलाई सबै जिम्मेवारीबाट हटाउँदै निष्कासन गरिएको हो। कारबाहीमा पर्नेमा सचिवालय सदस्य तथा युवा–खेलकुद विभाग संयोजक विष्णुजङ्ग बस्नेत, केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहोरा छन्।
यस्तै, विज्ञप्ति मार्फत सचिवालय सदस्य ओमप्रकाश लुइँटेल र केन्द्रीय सदस्य तथा मेची अञ्चल सह–संयोजक प्रकाश उप्रेतीलाई पनि जिम्मेवारीबाट हटाई निलम्बन गरिएको अभियानले जनाएको छ।
महाअभियानका अनुसार, यिनले पीडित नागरिकका कागजात कब्जा गर्ने, आर्थिक मोलमोलाइ गर्ने, संगठनभित्र गुटबन्दी र अराजकता फैलाउने जस्ता गतिविधि दोहोर्याउँदै आएका थिए। संगठनको चेन–अफ–कमाण्ड अवहेलना गरिएको भन्दै उनीहरूलाई निष्कासन आवश्यक ठानिएको अभियानले स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कारबाही गरिएका व्यक्तिसँग कुनै पनि प्रकारको समन्वय, साथी–संगत वा गतिविधि गर्न नहुने बारे अभियन्ताहरूलाई सचेत गराइन्छ। पीडितहरू उनीहरूसँग पछि परे महाअभियान जिम्मेवार रहने छैन।’
उक्त निर्णयमा अभियानका संगठन विभाग सचिव प्रेमदीप लिम्बू र विभाग प्रमुख प्रेम थापा मगरका संयुक्त हस्ताक्षर रहेका छन्।









Facebook Comments