
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समसामयिक राजनीतिक परिस्थितिसम्बन्धी १६ बुँदे निर्णय पारित गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संगठन, आगामी कार्यक्रमसहित विभिन्न १६ बुँदे निर्णय गरेको हो ।
बैठकले अध्यक्ष लिङ्देनसहित तलैसम्मका कार्यसमितिको कार्यकाल विधानअनुसार ६ महिना थपेको छ । अब ६ महिनापछि मात्रै राप्रपाले महाधिवेशन गर्ने छ ।
बैठकले पूर्वराजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब सिर्जना गर्ने उद्देश्यले मंसिर २३ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
देशव्यापी सभा र प्रदर्शन आयोजना तथा व्यवस्थापनका लागि प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह र सहमहामन्त्री धनबहादुर बुढा सम्मिलित समिति पनि गठन भएको छ।
उता मुलुकको वर्तमान परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने पनि बैठकले तय गरेको छ।
समान विचार भएका दल, अभियान र व्यक्तिसँग सहकार्य, मोर्चा र एकताको लागि वरिष्ठ उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुव बहादुर प्रधान रहेको वार्ता समिति गठन गरिएको छ।
अनुशासन समितिको सिफारिसअनुसार मधेश प्रदेश सभा सदस्य कञ्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने र उनलाई प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय भएको पनि श्रेष्ठले बताए ।
महाधिवेशन, संगठन तथा सदस्यतासम्बन्धी प्रक्रियालाई अघि बढाउन विभिन्न समितिहरू गठन गरिएको बैठकले जनाएको छ।
विधान संशोधनका लागि निरञ्जन थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ। सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न अलग समिति गठन गरिएको छ भने केन्द्रीय निर्वाचन समितिमा दुई नयाँ सदस्य थपिएका छन्।
राप्रपा बागमती प्रदेशका पूर्वसभामुख भुवन पाठकलाई पुनः महामन्त्रीको जिम्मेवारीमा स्वागत गरिएको पनि बैठकमा जानकारी गराइएको छ।
पार्टीले गैरकानुनी रूपमा थुनामा रहेका कार्यकर्तालाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ।









Facebook Comments