
काठमाडौं । जेनजी आन्दोलनको तीव्र चरणमा देशका सर्वोच्च प्रशासनिक केन्द्रदेखि शीर्ष नेताहरूका निजी आवाससम्म एकैसाथ आगजनी भएपछि प्रहरीले घटनास्थलका खरानीको वैज्ञानिक परीक्षणलाई अग्राधिकार दिएको छ। भदौ २४ को भीषण घटनामा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतल निवासदेखि सैँबुस्थित मन्त्री क्वार्टरसम्म आगो दन्किएको थियो।
काठमाडौं उपत्यकामा मात्रै २२८ वटा भवन जलेको प्रहरी तथ्यांकले देखाउँछ। तीमध्ये सर्वोच्च अदालतसहित पाँचवटा न्यायालयका भवनसमेत आगोले समातेका थिए। सरकारी कार्यालयमा आगजनी गर्ने समूहको पहिचानका लागि प्रहरीले सघन खोजी गरिरहँदा, जलेका संरचनाको खरानीमाथिको वैज्ञानिक परीक्षण पनि अनुसन्धानको महत्त्वपूर्ण भाग बनेको छ।
प्रहरीले सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन र प्रधानमन्त्री तथा मन्त्रीका आवासहरूमा लागेको आगो असामान्य रूपमा फैलिएको भन्दै पेट्रोल–डिजेलबाहेक अन्य रसायन प्रयोग भएको हो कि भन्ने शंका गरेको थियो। यसकै आधारमा प्रहरी प्रधान कार्यालयले संवेदनशील पाँचवटा स्थानलाई लक्षित गरेर विशेष अनुसन्धान टोली खटाएको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, प्रत्यक्षदर्शी र पक्राउ परेकाबाट सोधपुछ गर्दा पनि कुनै विशेष रसायनको प्रयोग भएको प्रमाण भेटिएन। ‘हामीले व्यापक सोधपुछ गर्यौँ। दाबी, हल्ला र अनुमान धेरै आए, तर वैज्ञानिक रूपमा हेर्दा पेट्रोल–डिजेल मात्र प्रयोग भएको पुष्टि भएको छ,’ एक अधिकारीले बताए।
सामाखुशीस्थित प्रहरी विधिविज्ञान प्रयोगशालामा गरिएको प्राथमिक परीक्षणबाट पनि कुनै शंकास्पद रसायनको संकेत फेला नपरेपछि प्रहरीले अब खरानीका नमुना विदेश पठाउने तयारी गरेको छ। ‘अहिलेसम्म शंकास्पद केही देखिएको छैन। तर पूर्ण पुष्टि गर्न भारत पठाउँदैछौँ,’ अनुसन्धानमा फर्किएका प्रहरी अधिकारीले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा काठमाडौंमा मात्रै १०४ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ६६ वटा सरकारी कार्यालय, १६ वटा संस्थागत तथा व्यावसायिक प्रतिष्ठान र २२ वटा व्यक्तिगत उजुरी हुन्। प्रहरीले घटनामा संलग्न २६७ जनालाई पक्राउ गरिसकेको छ। तीमध्ये ८७ जना हाजिर–जमानीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा छन्।
भदौ २३ र २४ का घटनामा काठमाडौंमा ४९ जनाको मृत्यु भएको थियो। देशभरमा भने ७६ जनाले ज्यान गुमाएका थिए।
महत्त्वपूर्ण सरकारी संरचनाबाहेक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरूका घरमा जलेका सामग्रीसमेत प्रहरी अनुसन्धानको दायरामा छन्।
उनीहरूका आवासमा आगो लगाउँदा बाहिरबाट ल्याइएको रसायन प्रयोग भएको वा स्रोत नखुलेको पैसा–कागजपत्र जलेको हुनसक्ने शंकामा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले खरानी संकलन गरेर परीक्षण गरिरहेको छ।
प्रहरी स्रोतका अनुसार, प्रारम्भिक परीक्षणमा कुनै असामान्य सामग्री नदेखिएको भए पनि पूर्ण प्रमाणिकरणका लागि नमुना विदेश पठाइनेछ।









Facebook Comments