काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले  आफूहरूले केवल महाधिवेशनको कार्यतालिका मागेका नभई महाधिवेशन मागेको बताएका छन् ।

नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति कुनै पनि हिसाबले जिम्मेवार नेतृत्वको परिचय नभएको उनीहरुको भनाई छ । चुनाव अगाडि विशेष महाधिवेशनको विकल्प नभएको पनि उनीहरुको भनाई छ ।

ad

समयमै विशेष महाधिवेशन गरेर, जनअपेक्षाको नीति अख्तियार गरेर बलियो र सच्चिएको कांग्रेस लिएर चुनावमा जाने कुरा गरिरहँदा डेढ महिनादेखि पार्टी अलमलिएको आज आयोजित पत्रकार सम्मेलन कांग्रेस नेता देवराज चालिसेले भने । उनले पार्टीको केन्द्रीय नेतृत्वले विधान पालना नगरेको आरोप पनि लगाए । 

विशेष महाधिवेशन पक्षधर हस्ताक्षर अभियानका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘सुदृढ, एकताबद्ध र जनअपेक्षित नेपाली कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा—पुष २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्छ, ‘कुनै पनि बहाना वा अविश्वसनिय नियमित महाधिवेशनको तालिकामा विशेष महाधिवेशनको माग निष्क्रिय हुन सक्दैन। वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने  भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार—विशेष महाधिवेशन कसैले पनि रोक्न  वा अतिक्रमण गर्न पाउँदैन।’