
काठमाडौं । एमालेको ११ औं महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वका लागि नेताहरुको सक्रियता बढिरहेकै अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको एघारौं महाधिवेशन पार्टीलाई अग्रगतितर्फ अघि बढाउन सक्ने विश्वास व्यक्त गरेकी छन् ।
विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु, एमालेको पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले आज जारी गरेको विज्ञप्तिमा भनेकी छन्- मैंले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेका कारण म स्वयम्को यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु ।
एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म काठमाडौं उपत्यकामा आयोजना हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उदघाटन र भृकुटीमण्डपमा बन्दसत्र आयोजना गरिँदै छ ।
भण्डारीले परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टीपंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने विश्वास व्यक्त गरेकी छन् । एमालेले मंसिर १३ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ ।
महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएको र यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय भएको भन्दै उनले एमालेको महाधिवेशनप्रति शुभेच्छा व्यक्त गरेकी छन् ।









Facebook Comments