काठमाडौँ । तीन फरक पृष्ठभूमि र भिन्न राजनीतिक यात्राबाट आएका तीन दल—अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी—आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने भएका छन्।

बुधबार तिनै दलका शीर्ष नेता अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी निर्वाचन आयोग पुगे। उनीहरूले एउटै चुनाव चिह्न ‘चकिया (जाँतो)’ लिएर संयुक्त प्रतिस्पर्धामा जाने औपचारिक निवेदन आयोगमा दर्ता गराए। संयुक्त रूपमा चुनाव लड्ने राजनैतिक सहमति लामो समयको छलफलपछि सार्वजनिक रूपमा घोषणा गरिएको हो।

ad

निवेदन बुझाएपछि संचारकर्मीहरूसँग कुरा गर्दै जसपा अध्यक्ष अशोक राईले आफूहरूको सहकार्य कम्युनिस्ट पार्टीहरूसँग एकता वा विलयको तयारी नभएको स्पष्ट संकेत गरेका छन्। उनका अनुसार, 'हामी कम्युनिस्ट दलसँग कुनै एकता गर्दैनौँ, न चुनावअघि, न चुनावपछिको अवस्थामा। हाम्रो साझेदारी यिनै तीन दलबीच छ, र यही मोडेलमा चुनावी लडाइँ लडिन्छ।'

उता नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेपाली राजनीतिमा ‘टुट्ने–फुट्ने’लाई सामान्य प्रक्रिया भन्दै मुख्य कुरा ‘मुद्दा र उद्देश्य’ हो भन्ने धारणा राखे। उनले भने, 'राजनीतिमा फुट्नु–जुट्नु प्राकृतिक हो। तर मुद्दा सिद्धिन लाग्यो भने समातेर उभिन सक्नुपर्छ। देश नै छैन भने अधिकार, पहिचान र समुदायको सबै कुरा अर्थहीन हुन्छ। त्यही भएर, देशलाई केन्द्रमा राखेर साझा अभियानमा उभिएका हौँ।'

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मूल्य र मान्यताको आधारमा सहकार्य मजबूत हुने उल्लेख गर्दै संयुक्त चुनाव चिह्न प्रयोग गर्न आफूहरू आयोग पुगेको बताए। उनका अनुसार, समान उद्देश्य भएकाले निर्वाचनमा साझा प्रतीकबाट लड्नु राजनीतिक रूपमा उपयुक्त निर्णय हो।

निर्वाचन आयोगका अनुसार हालसम्म १०१ वटा राजनीतिक दलले आगामी निर्वाचनका लागि निवेदन दर्ता गराइसकेका छन्। संयुक्त चिह्न लिएर मैदानमा उत्रने तीन दलको निर्णयले मधेस र थारू–बहुल क्षेत्रमा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ।