
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी प्रमुखको कमान्ड सम्हालेका छन् । बुधबार रानिपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा कार्कीले पदभार ग्रहण गरेका हुन् ।
उपत्यकामा कार्यरत दानबहादुर कार्की आईजीपी नियुक्त भएसँगै उपत्यका प्रहरी प्रमुखको पद रिक्त थियो । मन्त्रिपरिषद्ले ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालयमा पस्थापन गर्ने निर्णय गरेको थियो । कार्कीलाई डीआईजी ओम अधिकारी सहितका प्रहरी अधिकृतहरूले स्वागत गरेका छन् ।
जेनजी प्रदर्शनसँगै उपत्यकामा सुरक्षा चुनौती थपिएको छ । भदौ २४ मा आन्दोलनकारीको आक्रमणबाट सबैभन्दा धेरै क्षति उपत्यकामा भएको थियो । उपत्यकामा गिरेको प्रहरीको मनोबल उठाउँदै शान्ति सुरक्षा बहाल गर्नुपर्ने चुनौती कार्कीको काँधमा छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने चुनौती पनि उनको सामु छ ।









Facebook Comments