काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू प्रधानमन्त्री बन्न दौडधुप नगर्ने तर जनताले जिम्मेवारी दिए पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय नेतृत्वको कामको प्रशंसा गर्दै समसामयिक राजनीति, विकास र आगामी राजनीतिक भूमिकाबारे खुला धारणा राखे।

ad

प्रचण्डले गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाको कार्यशैली र जनताप्रतिको समर्पणले आफू प्रभावित भएको बताए। 'म भगवान होइन, जनताको सेवक हुँ। धेरै वर्षदेखि जनताको सेवामा आफू समर्पित छु,' उनले भने, 'अध्यक्ष थपलियाले व्यक्त गर्नुभएको भावना र स्पिरिटप्रति म आभारी छु।'

कार्यक्रममा नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीका रूपमा देख्ने इच्छा प्रकट गरेका थिए। पाण्डेको भनाइमा प्रतिक्रिया जनाउँदै प्रचण्डले भने, 'देश चलाउन अब प्रधानमन्त्री नै हुनुपर्छ भन्ने सोच मसँग छैन। त्यसका लागि मरिहत्ते गर्ने मनसाय पनि छैन। तर देश र जनताले मागे भने जिम्मेवारीबाट पछि हट्ने स्वभाव मसँग छैन।'

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन धेरै पहल भए पनि पर्याप्त गति दिन नसकिएको उल्लेख गर्दै परियोजनाप्रति आफ्नो प्रतिबद्धता ज्यूँका त्यूँ रहेको बताए। 'प्रधानमन्त्री भए पनि नभए पनि बूढीगण्डकीलाई अघि बढाउन म निरन्तर लागिरहन्छु,' उनले जोड दिए।

उनका अनुसार सिंहदरबारमा आयोजनाका मोडालिटी र लगानी संयोजनबारे धेरैपटक उच्चस्तरीय बैठक बसे पनि योजनाअनुसार काम गति लिन सकेको थिएन।

बेनिघाट रोराङ गाउँपालिका देशभर ‘बेरुजु–विहीन’ पालिका भनेर परिचित भएको उल्लेख गर्दै उनले यस्तो कार्यक्षमता अन्य स्थानीय तहका लागि प्रेरणादायी भएको बताए।