
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकता प्रक्रिया टुंगो लाग्दै आइतबार घोषणा सभामार्फत सार्वजनिक गर्ने तयारी भएको छ। विवेकशील साझाको केन्द्रीय समिति बैठकले रास्वपासँग एकीकरण गर्ने प्रस्तावलाई सर्वसम्मत समर्थन दिएपछि एकता मार्ग खुला भएको हो।
बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले पेस गरेको ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि बृहत्तर ध्रुवीकरण–एकीकरण प्रस्ताव’ अनुमोदन गर्दै एकीकरणको निर्णय पारित गरेको प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए।
परियारका अनुसार हालका राजनीतिक उतार–चढाव, विशेषगरी ‘जेनजी विद्रोह’ले वैकल्पिक शक्तिहरूबीच सहकार्यको आवश्यकता थप स्पष्ट बनाइदिएको छ। उनका अनुसार, आगामी निर्वाचनमा निर्णायक शक्ति बन्ने लक्ष्यसहित जनताको विकास, सुशासन र समृद्धिको अपेक्षालाई व्यवहारिक परिणाममा रूपान्तरण गर्ने उद्देश्यले एकता गर्ने सहमति बनेको हो।
दुवै दलका शीर्ष नेताहरूबीच एकीकरणसँग सम्बन्धित प्राविधिक पक्ष छिट्टै टुंगो लगाइने तयारी भइरहेको प्रवक्ता प्रधानले बताए। उनका अनुसार, एकता घोषणा कार्यक्रम आगामी आइतबार राष्ट्रिय सभा गृहमा विशेष समारोहसहित आयोजना गरिनेछ।









Facebook Comments