काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति सहानुभूति, सद्भाव र साथ रहने बताएका छन्। नागरिक फ्रन्टलाइनसँगको कुराकानीमा ओलीले देउवाप्रतिको व्यवहार अमानवीय भएको भन्दै तीव्र आपत्ति जनाए।

ओलीका अनुसार आफू र देउवाबीच पाँच दशकभन्दा धेरै पुरानो व्यक्तिगत सम्बन्ध छ। 'म राजनीतिक व्यक्ति भएकाले विचार मिले/मिलेन, तर शेरबहादुरजीसँग ५२ वर्षदेखिको मित्रता छ,” ओलीले भने, “उहाँमाथि भएको व्यवहार अत्यन्तै अमानवीय लाग्छ, त्यसैले गम्भीर सहानुभूति व्यक्त गर्छु।'

ad

८२ वर्षको उच्च उमेरमा रहेका देउवामाथि गरिएका क्रियाकलाप कानुनी मर्यादा वा प्रक्रियाभन्दा बाहिर रहेकाले आफूलाई दु:ख लागेको ओलीको टिप्पणी छ। उनका अनुसार, यदि कुनै कानुनी प्रश्न थियो भने विधिसम्मत बाटो समात्न सकिन्थ्यो, तर त्यसो नगरिएकोले घटना उद्दण्डतामा परिणत भएको छ।

ओलीले भने, 'गल्ती भएको थियो भने कानुनी उपचारको बाटो त खुल्लै छ। तर कानुनी बाटो छाडेर गरिएको व्यवहार आपराधिक चरित्रको देखिन्छ। त्यस्तो गतिविधिलाई हामी समर्थन गर्न सक्दैनौँ।'

देउवाप्रति आफूको व्यक्तिगत सद्भाव, समर्थन र साथ निरन्तर रहने अध्यक्ष ओलीले दोहोर्‍याए। उनका शब्दमा, 'उहाँप्रति मेरो सहानुभूति छ, सद्भाव छ, समर्थन छ। मेरो साथ–सहयोग उहाँहरूका लागि रहनेछ।'