
सुनसरी । सप्तकोशी नदीको विशालता, बराहक्षेत्रको धार्मिक महत्व र सुसौलीघाटबाट देखिने अद्वितीय सूर्यास्तको सौन्दर्यलाई आधार बनाउँदै ‘ह्यापी ल्याण्ड कम्पनी’ले सुनसरीको बराह नगरपालिकाको वडा नम्बर २ स्थित सुसौलीघाटमा बहुआयामिक पर्यटन पार्क निर्माणको काम तीव्र बनाएको छ।
नेपालका विभिन्न भू–भागमा नयाँ–नयाँ पर्यटन गन्तव्य विकास गर्ने दीर्घकालीन योजनासहित टिमले सुसौलीघाटलाई पहिलो नमूना परियोजना बनाउने तयारी गरेको हो ।
सुसौलीघाटलाई साहासिक खेल मानिने एटिबि बाइक सवारी, सांस्कृतिक प्रस्तुती, नदी–तटीय मनोरञ्जन, नाइट–क्यामिङ र सनसेट–सफारी सबै एकैठाउँमा उपलब्ध हुने ‘एड्भेन्चर–सनसेट पार्क’का रूपमा विकास गरिने कम्पनीले जनाएको छ। वर्तमानमा ५ बिगा १० कठ्ठा क्षेत्रफलमा पूर्वाधार निर्माण सुरु भइसकेको छ भने थप जग्गा किन्नका लागि प्रक्रिया निरन्तर जारी रहेको पनि कम्पनीको भनाई छ ।
परियोजना अनुसार यस क्षेत्रमा १०० मिटर उचाइको बन्जी जम्प टावर, सप्तकोशी नदीलाई वारपार गर्ने जिप–लाइन, डेजर्ट सफारी पार्क, टापुमा नाइट–क्याम्प, नदी–तटीय मनोरञ्जन स्थल, साप्ताहिक कन्सर्ट, डिजे हब तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछ । कम्पनीले यसलाई गोवाको तटीय आकर्षण, सिंगापुरको सेन्टोसा पार्क, दुबैको डेजर्ट सफारी पार्क जस्तै थिम पार्क तथा भारतको पर्यटकीय स्थल गोवा जस्तै नविन पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। परियोजनाको मूल नेतृत्व विदेशमा वर्षौं मेहनत र सीप सिकेर फर्किएका युवाहरूको समूहले सम्हालेको छ।
कम्पनीले स्थानीय रोजगारी, स्थानीयको व्यवसाय विस्तार, होमस्टे प्रवर्द्वन तथा मौलिक कला–संस्कृति प्रदर्शनीलाई परियोजनाको मुख्य आधार बनाएको छ। यसका लागि स्थानीय समुदाय, स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्यको मोडल तयार गरिएको छ।








Facebook Comments