
काठमाडौँ । भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा मोटरसाइकलको चर्को आवाज निकाल्दै भीड उकासेको आरोप लागेका ‘टीओबी’ समूहबारे प्रहरीले प्रारम्भिक छानबिन सकेको छ। अनुसन्धानमा समूहका संस्थापक तेन्जिन दावा लामाबाहेक अरू सदस्यहरूको तिब्बतसँग कुनै संगठित वा राजनीतिक सम्बन्ध नदेखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, टीओबी समूह १० जुन २०२४ मा दर्ता–नदर्ता रूपमा गठन भएको मोटरसाइकल राइडर्स समूह हो। 'समूहमा ५७ सदस्य छन्, लोगो र अभिव्यक्ति शैली तेन्जिनकै प्रभावमा बनेको देखिन्छ,' भट्टराईले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए।
तेन्जिनले आफ्नो ज्याकेटमा ‘तिब्बेटियन ओरिजिनल ब्लड’ लेखिएको कारणबारे बयान दिँदा आफू तिब्बती मूल भएकाले व्यक्तिगत पहिचानका रूपमा लेखेको बताएका छन्। 'समूहका बाँकी सदस्यले भने टीओबी लाई ‘द ओरिजिनल ब्रदर्स’ को छोटकरी रूपमा मात्र बुझ्ने गरेको देखियो,' भट्टराईले स्पष्ट पारे।
प्रहरीले तेन्जिनको साथबाट ‘तिब्बेटियन ओरिजिनल ब्लड’ लेखिएका ६ वटा ज्याकेट पनि बरामद गरेको छ।
र्यापर सुरेन्द्र गुरुङको प्रभावमा ‘हाकिम’ टिसर्ट
छानबिनमा समूहका सदस्यहरू नेपाली र्यापर सुरेन्द्र गुरुङबाट प्रभावित भई टिसर्टमा ‘हाकिम’ लेख्न थालेको खुल्न आएको छ। 'लोगोमा प्रयोग भएको ड्रागन युद्धमा जाने शक्ति र फूलले शान्ति सूचक जनाउँछ भनी उनीहरूले व्याख्या दिएका छन्,' प्रवक्ता भट्टराईले भने, 'तर लोगोको कुनै राजनीतिक वा असामान्य आशय खुलेको छैन।'
‘चिया बस्ती’ बाट सुरु भएको छलफल
प्रहरीले प्राप्त गरेको इन्टाग्राम च्याट र पोस्टका आधारमा २३ भदौको अघिल्लो दिन समूहले जेन–जी आन्दोलनमा सहभागी हुनेबारे छलफल गरेको प्रमाण भेटिएको छ। सोनाम शेर्पाले टीओबीको आधिकारिक इन्टाग्राम स्टोरीमार्फत ‘चिया बस्ती’ (गोपीकृष्ण हल नजिक) मा भेला हुन सूचना दिएको देखिएको छ।
'त्यसपछि २३ भदौमा उनीहरू त्यही चिया पसलमा जम्मा भएर समूहमा हिँडेका थिए,' प्रहरीले बतायो। दिउँसो करिब १२ बजे टीओबीका सदस्यहरू बिजुलीबजार पुलतिर पुगेपछि मोटरसाइकलको ठूलो आवाज निकाल्दै जुलुसमा नारा लगाएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ।
प्रहरीका अनुसार, भीडमा उनीहरूले ‘मेरो देश मलाई फिर्ता चाहियो’ र ‘मेरो देश, मेरो शान’ जस्ता नारा लगाएका थिए। त्यही दिन तेन्जिनको टाउकोमा चोट लागेको पनि प्रहरीको भनाइ छ।
१३ मोटरसाइकल नियन्त्रण, २६ जनासँग बयान
छानबिनका क्रममा प्रहरी टोलीले आन्दोलनमा सहभागी २६ जनालाई सम्पर्कमा ल्यायो र उनीहरू प्रयोग गरेको १३ बुलेट तथा एक पल्सर मोटरसाइकल नियन्त्रणमा लियो। सोमबार ती मोटरसाइकल अभिभावकको रोहबरमा सम्बन्धितलाई फिर्ता गरिएको छ।
टिसर्ट बेचेर समूह चलाउने
प्रहरीले समूहको आम्दानीबारे पनि तथ्य सार्वजनिक गरेको छ। टीओबी सदस्यले ७ सय रुपैयाँमा टिसर्ट खरिद गरी एक हजारमा नयाँ सदस्यलाई बेच्ने गरेको, सोही रकम समूह सञ्चालनमा प्रयोग हुने खुलाइएको छ।
समूहले वर्षमा एक–दुई पटक उपत्यकाबाहिर लामो दूरीको टुर र हरेक शनिबार काठमाडौं वरपर छोटो यात्रा गर्ने गरेको पत्ता लागेको छ।
तेन्जिनविरुद्ध तीनवटा छुट्टाछुट्टै मुद्दा
तेन्जिन दावा लामा पक्राउ परेपछि पहिलो चरणमा ‘अभद्र व्यवहार’ मुद्दा दर्ता गरिएको थियो। यद्यपि, सामाजिक सञ्जालमा देखिएको पेस्तोल देखाउने भिडियो जेन–जी आन्दोलनकै दिन खिचिएको नभई केही महिना अघिको म्युजिक भिडियो छायांकनकै भएको प्रहरीले स्पष्ट पारेको छ। उक्त मुद्दामा प्रशासनले ७ हजार ५ सय रुपैयाँ धरौटी तोकेको थियो।









Facebook Comments