काठमाडौँ । सेयर बजारमा मार्जिन कारोबारलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ निर्देशिका सार्वजनिक प्रक्रिया अघि बढाएको छ। ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका–२०८२’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै बोर्डले सात दिनभित्र राय–सुझाव माग गरेको हो।

नयाँ मस्यौदाले लगानीकर्तालाई अब ३० प्रतिशत रकम बुझाएरै ‘ए’ वर्गका कम्पनीको सेयर किन्न सकिने प्रस्ताव अघि सारेको छ। बाँकी ७० प्रतिशत रकम ब्रोकरले मार्जिन ऋणस्वरूप उपलब्ध गराउने व्यवस्था राखिएको छ। यसअघि मार्जिन कारोबारमा एकरूपता नहुँदा समस्या बढेको भन्दै सेबोनले पुरानो निर्देशिका पूर्णतः संशोधन गर्न लागेको भन्दै छ।

ad

प्रस्तावित मस्यौदाअनुसार ब्रोकरहरूले लगानीकर्तासँग सेयर खरिद गर्दा १८० दिनको औसत मूल्य वा तत्कालीन बजार मूल्य, दुवै मध्ये कम मूल्यलाई आधार बनाएर प्रारम्भिक मार्जिन लिनुपर्नेछ। ‘ए’ वर्गका कम्पनीका लागि ३० प्रतिशत, ‘बी’ वर्गका लागि ४० प्रतिशत तथा अन्य योग्य कम्पनीका लागि ३५ प्रतिशत मार्जिन तोक्ने सुझाब मस्यौदामा समावेश गरिएको छ।

मार्जिन कारोबार सुविधा दिन चाहने धितोपत्र दलाल व्यवसायीको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्नेछ। साथै, उनीहरूले अनिवार्य रूपमा राफसाफ तथा निक्षेप सदस्यता प्राप्त गरिसकेको हुनुपर्नेछ। ब्रोकरले आफ्नै नेटवर्थको पाँच गुणासम्म मात्र मार्जिन ऋण प्रवाह गर्न पाउनेछन् भने एकै ग्राहक (वा एउटै घरपरिवार) लाई नेटवर्थको २० प्रतिशतभन्दा बढी सुविधा दिन नपाउने प्रावधान राखिएको छ।

सेबोनले मार्जिनयोग्य कंपनीका लागि कठोर मापदण्ड राखेको छ। अब मार्जिन पाउन कम्पनीले कम्तीमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण गरेको हुनुपर्नेछ। साथै, नेटवर्थ चुक्ता पुँजी बराबर वा बढी रहेको, पछिल्लो तीन वर्षमध्ये दुई वर्ष लाभांश वितरण गरेको र सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ।

सेयरको मूल्य घटेपछि लगानीकर्ताको सम्भार मार्जिन घटेमा ब्रोकरले तुरुन्त ‘मार्जिन कल’ पठाउनेछन्। ‘ए’ वर्गका कम्पनीमा २० प्रतिशत, ‘बी’ वर्गमा ३० प्रतिशत र अन्यमा २५ प्रतिशत सम्भार मार्जिन अनिवार्य हुने प्रस्ताव छ।

लगानीकर्ताले समयमै रकम थप्न नसकेमा ब्रोकरले सेयर बिक्री गरेर हिसाब मिलान गर्न सक्नेछ। यस प्रक्रियालाई सहज बनाउन लगानीकर्ताले सुरुमै ब्रोकरलाई सेयर बिक्री अधिकारसहितको वारेसनामा बुझाउनुपर्ने बताइएको छ।

मार्जिन सुविधा लिन चाहनेले ब्रोकर कहाँ छुट्टै ‘मार्जिन कारोबार खाता’ र ‘मार्जिन हितग्राही खाता’ (मार्जिन डिम्याट) खोल्नुपर्नेछ। तर, ब्रोकरको सिस्टमले एउटै खाताबाटै व्यवस्थापन गर्न सक्ने प्रावधान भएमा छुट्टै खाता खोल्न आवश्यक नपर्नेछ। सेयरको दैनिक मूल्यांकन ‘मार्क–टु–मार्केट’ विधिबाट गरिनेछ।

सेबोनका अनुसार २०७४ मा जारी निर्देशिका व्यवहारमा प्रभावकारी नहुँदा नयाँ निर्देशिका आवश्यक भएको थियो। बजार गतिशीलतासँग मेल खाँचेर २०८२ सालदेखि लागू गर्ने गरी बोर्डले यसपटक मस्यौदा सार्वजनिक गरेको हो।