
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र जोगाउन राजनीतिक दल एक हुन आवश्यक भएको बताएका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षरकर्ताहरूसँगको भेटवार्तामा उनले पार्टी विशेषको विषयमा प्रवेश गरेर आफूले कुनै सुझाव नराख्ने बताएका हुन् ।
विशेष महाधिवेशन पक्षधरहरूले राष्ट्रपतिसँगको भेटमा देशको लोकतन्त्र नै अप्ठ्यारोमा रहेको भन्दै यस्तो बेला पार्टीले महाधिवेशनबाट नीति र नेतृत्व फेर्नुपर्ने बताएका थिए ।
जवाफमा राष्ट्रपतिले भने, ‘कांग्रेसमा नियमित महाधिवेशन गर्ने हो कि विशेष महाधिवेशनमा जाने हो कि तपाईंहरू मिलेर जानुहोस्, लोकतन्त्र जोगाउन पार्टीहरूबीच उच्चस्तरको समझदारी आवश्यक छ । त्यसका लागि दलभित्रको एकता त झन् बढी आवश्यक हुन्छ ।’
आफू लामो समय कांग्रेसमा काम गरेर आए पनि अहिले राष्ट्रकै अभिभावकीय जिम्मेवारीमा रहेको भन्दै पौडेलले कांग्रेस कुन महाधिवेशनमा जाँदा उपयुक्त हुन्छ भन्ने सुझाव नदिने बताएका हुन् ।
लोकतन्त्र र संविधानलाई ट्र्याकमा ल्याउन निर्वाचन एकमात्र विकल्प भएकाले त्यसको वातावरण बनाउन उनको आग्रह थियो ।राष्ट्रपतिले भने, ‘देशलाई संविधानको ट्र्याकमा हिँडाउने एकमात्र विकल्प निर्वाचन हो । यसलाई सबै दलले सहयोग गरिदिनुस्, चुनावमा नजाने भनेका दलहरूलाई पनि भाग लिन प्रेरित गर्नुहोस् ।’









Facebook Comments