काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले गैह्रजिम्मेवार निर्णयहरु गर्न थालेको भन्दै जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै बहिस्कार गर्ने चेतावनी समेत दिएको छ ।

मुभमेन्टले सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री कार्की नेतृत्वको सरकार गठन भएपछि उनका मन्त्रीपरिषद्‌मा रहेका पदाधिकारीहरूले क्रमिक रुपमा दुराचार र गैरजिम्मेवार निर्णय गरेको आपत्ति जनाएको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको पुष्टि भएको पनि जेन–जी मुभमेन्टको ठहर गरेको छ ।

ad

विज्ञप्तिमा भनिएको छ–उर्जामन्त्री कुलमान घिसिङ आर्थिक अनियमिततामा मुछिएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब विक्रीमा मुछिएकालाई छुट दिएको  तथा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले समेत आफन्तलाई नियुक्ति दिएको। गृहमन्त्री ओमप्रकाश अर्यालले समेत काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर पदीय दुरुपयोग गरेको भन्दै सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ । 

हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठराघात नगर्न आह्वान गर्दछौँ’, जेनजी मुभमेन्टको विज्ञप्तिमा भनिएको छ, ‘सत्ता ‘कु’ गरेर बनेको सुशीला कार्की र उनको मन्त्रिपरिषदलाई सार्वजनिक रूपमा बहिस्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आह्वान गर्दछौँ ।’