
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले श्रीमतीसहितका व्यक्तिलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको पाइएपछि चौतर्फी विरोध भईरहेको छ ।
श्रेष्ठलाई तत्काल पदमुक्त गरी नातावाद र कृपावादलाई प्रोत्साहन हुने गरि श्रेष्ठले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गर्न पनि चौतर्फी माग भईरहेको छ । श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई असोज २ गते सहसचिव सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिवले आफन्तलाई नियुक्त गरेको भन्दै नेपाल जेन–जी फ्रन्टले विरोध जनाएको छ । राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार हो, फ्रन्टकी संयोजक रक्षा बमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्तीको माग गरेको छ । प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयमा कोको कुनकुन पदमा कार्यरत छन् भन्ने विवरण सार्वजनिक गर्न पनि फ्रन्टले माग गरेको छ ।









Facebook Comments