
काठमाडौं । नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली राजनीति लामो समयदेखि नेतृत्व गर्दै आएका प्रमुख दलहरू- नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)-देशको रूपान्तरणमा असफल भइसकेको टिप्पणी गरेको छ।
आइतबार सार्वजनिक भएको पार्टीको घोषणापत्रमा यी दलहरू प्रारम्भिक समयका परिवर्तनकारी शक्तिका रूपमा उभिए पनि शासनसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी भूमिका कायम राख्न नसक्दा असफल बनेको निष्कर्ष उल्लेख छ।
प्रलोपाले कांग्रेस ४५ वर्ष, एमाले ३६ वर्ष र माओवादी केन्द्र करिब १७ वर्ष सत्ताकै वरिपरि रहे पनि जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेद जस्ता पुरानै समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ।
घोषणापत्रमा भनिएको छ,'इतिहासमा योगदान गरेका दलहरूले राज्य सत्तामा पुगेपछि आवश्यक नीतिगत र प्रणालीगत सुधार गर्नेभन्दा पनि मौजुदा विकृत संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ डोयाए।'
भ्रष्टाचार र नातावादकै भरमा राज्य प्रणाली कमजोर बनेको आरोप
प्रलोकाको दाबी अनुसार तीनै दलले शासनमा रहेर भ्रष्टाचार, नातावाद–कृपावाद, दण्डहीनता बढाउने काम गरे। राज्यका संस्थामा राजनीतिक हस्तक्षेप बढ्दै गएपछि प्रणालीहरू थप कमजोर भएको उसको ठहर छ।
साथै संविधान लेखन प्रक्रियामा पनि दलीय स्वार्थले हावी हुँदा जनआन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
‘नियन्त्रित लोकतन्त्रले दलहरू अपांग बनायो’
प्रलोकाले मुलुकमा पछिल्लो समय विकासभन्दा सांस्कृतिक क्षय, गुजारा–केन्द्रित राजनीति र कमजोर भिजन हाबी भएको टिप्पणी गरेको छ।
रोजगारी, व्यावसायिक शिक्षा, विज्ञान–प्रविधि, उद्योग र जनजीविकाजस्ता मूल मुद्दामा ठूला दल असफल भएको दाबी गर्दै घोषणापत्रमा भनिएको छ,'खराबीको इकोसिस्टम भत्काएर विकासको इकोसिस्टम बनाउनुपर्ने थियो, तर दलहरू त्यस दिशामा अघि बढ्न सकेनन्।'
देश अब पुनर्जागरण आन्दोलनको आवश्यकतामा प्रवेश गरेको दाबी
प्रलोकाले ठूला दलका नेता–कार्यकर्तालाई 'समयको गति र विश्वको रुपान्तरणबारे अनभिज्ञ' रहेको आरोप लगाउँदै, नेपाललाई आर्थिक समृद्धिको मार्गमा लैजान अब 'अग्रगामी विचारका आधारमा संविधान संशोधन' नै मुख्य राजनीतिक कार्यभार भएको जनाएको छ।
यिनै दलहरूको योगदान स्वीकार पनि
यद्यपि प्रलोकाले संविधानको खाकेमा केही असफलता देखाए पनि पुराना दलहरूको ऐतिहासिक योगदान स्वीकार गरेको छ।
कांग्रेस र कम्युनिस्ट दलले राणा शासन र पञ्चायत फालेर बहुदल ल्याउन गरेको योगदान मानिएको छ।
गणतन्त्र स्थापनामा २०५२ पछि माओवादी जनयुद्धको भूमिका निर्णायक रहेको उल्लेख छ।
संघीयता स्थापनामा मधेसवादी दल र आदिवासी–जनजाति आन्दोलनको योगदान महत्वपूर्ण भएको निष्कर्ष पनि घोषणापत्रमा समेटिएको छ।









Facebook Comments