
काठमाडौं । जेन जेनरेशन (जेन जी) आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा नेतृ आरजु राणा देउवा देखिनुअघि सानेपा पार्टी कार्यालय वरिपरि बाक्लो सुरक्षा घेराले सबैको ध्यान खिच्यो। प्रहरी मात्र होइन, कांग्रेसनिकट युवासमेत कार्यालय चकमन्न राख्दै थिए। जेन जी आन्दोलनमा जलेर क्षतिग्रस्त देखिएको कार्यालय हल्का मर्मत गरेर देउवा दम्पतीको आगमनका लागि तयारी गरिएको थियो।
असोज २८ गते देउवा दम्पती पछाडिको गेटबाट कार्यालय प्रवेश गरे। आन्दोलनमा कुटपिट भएपछि उनीहरू पहिलोपटक सार्वजनिक भएका थिए। सोही दिन केन्द्रीय समितिको बैठकमा देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। त्यसपछि कात्तिक १० गते उनीहरू उपचारका लागि सिंगापुर गए।
सिंगापुरबाट फर्किएपछि सक्रिय भेटघाट
ठ्याकै एक महिनापछि, कात्तिक २८ मा देउवा नेपाल फर्किए। त्यो बेला कांग्रेसको बैठकमा नेताहरूको बोल्ने क्रम सकिएको थियो तर महाधिवेशनसहित प्रमुख विषयमा कुनै निर्णय हुन सकेको थिएन। कात्तिक २७ पछि पटक–पटक स्थगित भएको बैठक मंसिर ६ मा बसेर जेन जी आन्दोलन र चुनाव प्रक्रियाबारे निर्णय गर्यो। तर महाधिवेशनको विषय भने ‘अर्को बैठक’ भन्दै सारियो।
देउवा फर्केपछि भेटघाट फेरि बढेको छ। उनले आफ्ना निकट नेतासँग मात्र होइन, शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मासँग पनि भेट गरिसकेका छन्। जेन जी आन्दोलनअघि जस्तै अहिले भेटघाटको केन्द्र बूढानीलकण्ठबाट महाराजगञ्ज सरिसकेको छ, जहाँ देउवा दम्पती अस्थायी रूपमा बसिरहेका छन्।
दल दर्तामा देउवाकै हस्ताक्षर, सक्रियता बढेको संकेत !
मंसिर ६ को निर्णयअनुसार कांग्रेसले मंसिर ७ गते निर्वाचन आयोगमा आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्यो। दर्ताका सबै कागजातमा देउवाकै हस्ताक्षर छ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, कांग्रेसका आधिकारिक कागजातमा सदैव सभापतिकै हस्ताक्षर रहने परम्पराअनुसार यो प्रक्रिया सामान्य हो।
तर इतर समूह भने यसलाई सामान्य मानेको छैन। उनीहरूका अनुसार, देउवाकै हस्ताक्षर बुझिनुले उनी फेरि पूर्ण रूपमा सक्रिय भएको संकेत हो र कार्यवाहक सभापति पूर्णबहादुर खड्काप्रति अविश्वास देखिन्छ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भन्छन्,'हामीले त आयोगमा कार्यवाहक सभापतिको हस्ताक्षर बुझाइन्छ भन्ने सुनेका थियौँ। तर देउवाकै हस्ताक्षर बुझिनुले उनी सक्रिय भइसकेको देखिन्छ।'
महाधिवेशन टुंगो नलाग्दा विवाद झन् गहिरिँदै
कांग्रेस विधानअनुसार महाधिवेशन मंसिरमै सकिनुपर्ने थियो। तर पार्टी नेतृत्व अर्को वर्ष गर्ने मनसायमा थियो। जेन जी आन्दोलनपछि इतर पक्षले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्न दबाब बढाइरहेका छन्।
इतर समूहले नेतृत्व परिवर्तन बिना चुनावमा जान नहुने दाबी गर्दै सभापति देउवासँग सामूहिक भेटगरी माग राखेको छ। तर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइसकेकाले 'उहाँसँग नै छलफल गर्नूस्' भन्ने प्रतिक्रिया दिएको सहभागी नेताहरू बताउँछन्।
महाधिवेशन टुंगो नलाग्नुमा प्रमुख कारण आगामी चुनावमा उम्मेदवार चयन हो। संस्थापन पक्षले चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ, किनकि महाधिवेशनपछि नेतृत्व बदलेमा उम्मेदवार चयनमा आफ्नो पकड कमजोर हुने बुझाइ उनीहरूको छ।
अब दल दर्ता र उम्मेदवार सिफारिसमा देउवाकै हस्ताक्षर लाग्ने भएपछि, उनी चुनाव प्रक्रिया किनारमा बसेर हेर्ने होइन, फेरि सक्रिय भूमिकामा आउने लगभग निश्चितजस्तै भएको छ।









Facebook Comments