काठमाडौं । सत्ताका लागि पटक–पटक फुट्दै आएको मधेसवादी दल जनता समाजवादी यसपटक फेरि फुट्ने भएको छ । जेनजी विद्रोहपछि पुराना राजनीतिक दलहरूको उपादेयतामाथि प्रश्न उठिरहेका बेला १० कम्युनिस्ट पार्टीहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाएपछि सोही पार्टीसँग एकता गर्ने कि नगर्ने भन्ने विषयमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको हो ।

जसपाका अध्यक्ष राई नेकपासँग एकताको पक्षमा नदेखिँदा वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू भने नेकपासँग एकताका लागि अन्तिम तयारी गरिरहेका छन् । 
केही दिनअगाडि बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा श्रेष्ठले नेकपासँग एकताको प्रस्ताव राखेपछि पक्ष र विपक्षमा मत विभाजन हुँदा श्रेष्ठ अल्पमतमा परेका थिए । १५ सदस्यीय कार्यकारिणी समितिमा ४ जना रणध्वज लिम्बू, परशुराम बस्नेत, पुष्कर राजकर्णिकार र कृष्णबहादुर घजुले मात्र श्रेष्ठको पक्षमा खुलेका थिए । 

ad

जसपामा अहिले स्पष्ट रूपमा दुई धार देखिएको छ । पूर्वकम्युनिस्ट पार्टीबाट जसपा आएका नेताहरूले नेकपासँग एकता गर्ने पक्षमा आफूलाई उभ्याएका छन् भने मधेसवादी दलबाट विगतमा राजनीति गर्दै आएका नेताहरूले मधेसकेन्द्रित दलहरूसँग एकता गर्नुपर्ने अडान राख्दै आएका छन् । 

२०८१ वैशाखमा उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी विभाजन भएको थियो । पार्टी विभाजन हुँदा बहुमत सांसद अशोक राईको जसपातिर लागेका थिए । उपेन्द्रको पक्षमा ५ सांसद रहँदा राईलाई ७ सांसदले साथ दिएका थिए ।