काठमाडौं । स्थायी सरकारको रूपमा चिनिने निजामति प्रशासनको प्रमुख पद मुख्यसचिव बन्ने दौड सुरु भइसकेको छ । वर्तमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण मंसिर १० गते अवकाशमा जाने भएप्छि उनको ठाउँमा नयाँ मुख्यसचिव नियुक्त गर्ने दायित्व सरकारको हो । सरकारले ढिलोमा मंगलबारसम्म नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी गरेको छ । नयाँ मुख्य सचिवको लागि आधा दर्जन सचिवहरूले दौडधुप तीव्र पारेको बुझिए पनि प्रमुख दाबेदार मानिएका गोकर्णमणि दुवाडी पनि मंसिर १० गते नै आफ्नो ५ वर्षे सचिवको कार्यकाल पूरा गरी अवकाशमा जाँदै छन् । हाल राष्ट्रिय योजना आयोगका सचिव रहेका दुवाडी भदौ २३–२४ को जेनजी आन्दोलनहुँदा गृहसचिव थिए । सुशीला कार्की नेतृत्वमा सरकार गठन भएसँगै दुवाडीलाई गृहबाट योजना आयोगमा सरुवा गरिएको थियो । 

दुवाडीपछि मुख्यसचिवको लाइनमा रहेका भरतमणि सुवेदीले राजीनामा दिइसकेका छन् भने रक्षा सचिव सुमनराज अर्याल, खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य, राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटी र श्रम सचिव कृष्णहरि पुष्कर कर्ण मुख्यसचिव बन्ने दौडमा छन् ।

ad

तर वरीयतामा रक्षा सचिव सुमनराज अर्याल अगाडि रहेका छन् । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा वरीयतामा १ नम्बरमै रहेका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गरेकै नजिर निजामती सेवामा पनि दोहोरिएमा रक्षा सचिव अर्याल मुख्यसचिव बन्ने निश्चित छ । अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका थिए । त्यसपछि राष्ट्रिय योजना आयोग हुँदै उनी रक्षा मन्त्रालय पुगेका हुन् । अर्याल मुख्यसचिव भएमा उनको कार्यकाल आठ महिनाको मात्र हुनेछ । उनी ५८ वर्षे उमेर हदका कारण २०८३ असार २६ गते अवकाशमा जानेछन् ।