काठमाडौं । पार्टीभित्र ‘आफू बाँचुञ्जेल अध्यक्ष’ बन्ने चाहना राख्ने र लगातार तेस्रोपटक पनि पार्टीको नेतृत्व हात पार्न तम्सेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यसपटक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ठाडो चुनौती दिए पनि उल्टै ओलीले महाधिवेशनमा पराजित भएमा पराजित भए भीम रावलजस्तै पार्टी छाडेर नजान चेतावनी दिएका छन् । मंसिर २७ देखि २९ सम्म तोकिएको महाधिवेशनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भणडरीको समर्थनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने सार्वज्निक भएपछि ओलीले निरन्तर नेताहरूको तेजोबध गर्न लागि परेका छन् । तर, पार्टी नेतृत्वको अभिव्यक्ति र कार्यशैलीका कारण संकट गहिरिँदै गएको वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने दाबी गर्दै यसको निकास दिन आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन् । महाधिवेशनको तयारीबारे छलफलका लागि गत बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकमा पोखरेलले तेस्रो कार्यकाल पनि नेतृत्व लिँदा पार्टी कमजोर बन्ने दाबी गर्दै औपचारिक रूपमा बिदा लिएर सर्वसम्मत अध्यक्ष बनाउन सहयोग गर्न आग्रह गरे पनि ओलीले देश र पार्टीको आवश्यकताले फेरि आफू अध्यक्ष बन्नुपर्ने अवस्था आएको जवाफ फर्काएका थिए ।

यस्तै, अध्यक्ष ओलीले पछिल्लो समयमा नेतृत्व हस्तान्तरणको दबाब बढाइरहेका सचिव योगेश भट्टराईलाई पाखा लगाउने नियत देखाएका छन् । ११औँ महाधिवेशनको तयारीका लागि अन्य पदाधिकारीहरूलाई विभिन्न जिम्मेवारी दिइए पनि सचिव भट्टराईलाई भने कुनै महत्वपूर्ण जिम्मेवारी नदिएपछि एमालेमा तीव्र असन्तुष्टि देखिएको छ । महाधिवेशनको तयारीका क्रममा गत बिहीबार झन्डै ६ घन्टा बसेको सचिवालय बैठकले महाधिवेशनका लागि विभिन्न समिति गठन गर्दै त्यसको संयोजक र सचिवमा पार्टीका पदाधिकारीहरूलाई तोके पनि सचिव भट्टराईलाई भने कुनै पनि जिम्मेवारी दिइएको छैन । पार्टीका ६ सचिवमध्ये ५ जनाले विभिन्न समितिको जिम्मेवारी पाएका छन् । खाद्य व्यवस्थापन समितिको संयोजकमा सचिव लेखराज भट्ट छन् भने आवास व्यवस्थापन समितिको संयोजकमा अर्का सचिव छविलाल विश्वकर्मालाई जिम्मेवारी दिइएको छ । यस्तै यातायात व्यवस्थापन समितिको संयोजकमा गोकर्ण विष्ट, अतिथि सत्कार समितिको संयोजकमा अर्का सचिव रघुवीर महासेठ र प्रचार समितिको संयोजकमा पद्मा अर्याललाई तोकिएको छ । यसबाहेक अन्य पदाधिकारीहरूलाई पनि विभिन्न समितिहरूमा महत्वपूर्ण जिम्मेवारी दिइएको छ । भट्टराईलाई महासचिव शंकर पोखरेल संयोजक र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिव रहेको सचिवालयमा सदस्य मात्र बनाइएको छ । पछिल्लो समयमा अध्यक्ष ओलीको कार्यशैलीको खुलेर आलोचना गर्दै नेतृत्व छाड्न दबाब बढाइरहेकै कारण भट्टराईमाथि ओलीको गिद्देनजर परेको आशंका समेत गरिएको छ ।

ad