काठमाडौं । मुलुकको सबभन्दा ठूलो र पुरानो राजनीतिक दल नेपाली कांग्रेस जसले ३÷३ वटा परिवर्तनको नेतृत्व गरेको थियो, अहिले पार्टीको १५ औं महाधिवेशन चुनाव अघि गर्ने कि पछि गर्ने सामान्य विषयमा निर्णय गर्न नसकी अनिर्णयको बन्दी बनेको छ । अप्रत्याशित जेनजी आन्दोलनका कारण नियमित चुनाव करिब २७ महिना अगाडि आगामी फागुन २१ गते र आगामी माघमा राष्ट्रिय सभाको समेत रिक्त पदमा चुनाव हुने भएपछि उक्त चुनावहरूमा टिकट बाँड्ने र हत्याउने रणनीतिका साथ महाधिवेशनको कार्यतालिका तोक्न झन्डै डेढ महिनादेखि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले अहिलेसम्म कुनै ठोस निर्णय गर्न सकेको छैन ।

करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागपत्र केन्द्रीय कार्यालय बुझाइसकेका छन् । संस्थापन पक्षका केही अनुदार नेताहरूले महाधिवेशन चुनावपछि धकेल्ने अड्डी लिएपछि जेनजी आन्दोलनको भावनाअनुरूप नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्छ भन्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित संस्थापन पक्षका २ दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूको मागलाई पनि बेवास्ता गरी कार्यवाहक दिइसकेका सभापति शेरबहादुर देउवालाई पुनः प्रयोग गरी पछाडि धकेल्ने खेलमा रहेका पदाधिकारी÷पूर्व पदाधिकारीहरूको सामु महामन्त्रीद्वयले नझुक्ने र नझुक्किने अडान लिएकाले हिजो शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पनि महाधिवेशनको कार्यतालिकाको बारेमा कुनै निर्णय गर्न सकेन ।  बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने आमनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । यो सँगै नेपाली कांग्रेसले चुनावमा सहभागि हुने औपचारिक निर्णय लिएको छ । दल दर्ताको मिति मंसिर ७ र १० गतेलाई तोकिएको छ । यतिसम्म कि दल दर्ता गर्दा हस्ताक्षर कार्यबाहक सभापतिले गर्ने कि सभापतिले गर्ने पनि बैठकले निर्णय लिन नसक्नाले पार्टीभित्र अन्यौल बढेको कांग्रेसकै एक केन्द्रीय सदस्यले देशान्तरलाई जानकारी दिए । 

ad

१५औँ महाधिवेशन फागुन २१ गतेको चुनावअघि कि पछि भन्ने २ धारमा विभाजित कांग्रेस नेताहरू एक अर्कोलाई गलाउने दाउपेचमा देखिएकै अवस्थामा हिजो बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे निर्णय हुने धेरैले आकलन गरे पनि महाधिवेशनबारे कुनै निर्णय गर्न सकेन । महाधिवेशन गरेर नयाँ नीति र नेतृत्वसहित फागुन २१ गतेको निर्वाचनमा जानुपर्ने माग पार्टीभित्र जोडदार रूपमा उठिरहँदा झन्डै डेढ महिनाअगाडिदेखि बस्दै आएको कांग्रेस केन्द्रीय समितिको बैठक महाधिवेशनबारे कुनै निर्णय गर्न सकेको छैन । अहिले निर्वाचनमा सहभागी हुने र दल दर्ता गर्ने निर्णय गरे पनि पार्टीको महाधिवेशनबारे थप छलफल भने अब मंसिर ११ गते बस्ने बैठकमा हुने कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । 

पछिल्लो समय संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने तर विशेष महाधिवेशनको लागि गरिएको लिखित माग फिर्ता गर्नुपर्ने सर्त राखे पनि विशेष महाधिवेशन पक्षधरहरूले नियमित महाधिवेशन पुसभित्रै भए विशेषको माग स्वतः निष्क्रिय हुने तर्क गर्दै यो सर्र्तलाई स्वीकार गरेका छैनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानलाई अर्का नेता डा. शेखर कोइरालाले पनि साथ दिएपछि कांग्रेसमा विशेष महाधिवेशनको मत बलियो बनिरहेको अवस्थामा पार्टीका नेताहरूसँगको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अहिलेको अवस्थामा कांग्रेस पनि रूपान्तरण भएर जानुपर्ने र चुनावअघि महाधिवेशन गरेर नयाँ नेतृत्व, नीति र कार्यक्रमका साथ चुनावमा जाँदा पार्टीलाई फाइदा पुग्ने आशय व्यक्त गरेपछि चुनाव अगाडि नै महाधिवेशन हुने निश्चित भएको कांग्रेसका एक पदाधिकारीले देशान्तरलाई बताए । 

चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमा विवाद चर्किरहँदा कांग्रेस केन्द्रीय समितिको लामो समयदेखि बैठक अनिर्णयको बन्दी बनिरहेको अवस्थामा विशेष महाधिवेशन पक्षधरहरूले अब नियमित महाधिवेशनको चर्चा नगर्ने भन्दै विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाउन पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । पार्टीको विधानबमोजिमको विशेष अधिवेशनको मागलाई सुरुदेखि नै स्वीकार गर्न नचाहने, उपेक्षा गर्ने र लामो समयसम्म चलेको बैठकमा पनि विशेष महाधिवेशनको विषयलाई औपचारिक एजेन्डा नबनाइएको प्रति विशेष महाधिवेशन पक्षधरहरूले गम्भीर आपत्ति जनाउँदै विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गर्दै आइरहेका छन् । निर्वाचनअगाडि कुनै पनि महाधिवेशन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि इतरपक्षले विशेष महाधिवेशनको माग गर्दै दबाबमूलक अभियान सुरु गरेको हो ।

महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि आफूहरू लागेको र यसपटक नझुक्ने तथा नझुक्किने अडान राखेका छन् । कांग्रेसका पूर्वपदाधिकारी ७ भाइले चुनावअघि कुनै पनि प्रकृतिको महाधिवेशन गर्न नहुने भनेर पार्टी सभापति शेरबहादुर देउवालाई उचालिरहेको भए पनि देउवा भने उनलाई भेट्न जाने नेताहरूलाई आपसी सल्लाह गरेर सहमति जुटाउन सुझाव दिँदै आइरहेका छन् । केही दिनअगाडि सभापति देउवा पक्षका २८ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन हुनुपर्ने भन्दै देउवालाई नै भेटेर छलफल गरेका थिए । 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न नसकिने अवस्था आए आगामी चुनावमा उम्मेदवार नहुने चेतावनी दिएपछि कांग्रेसमा तरंग नै उत्पन्न भएको छ । चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई महामन्त्रीद्वयले आगामी फागुनअघि महाधिवेशन नभए चुनावमा उम्मेदवार नहुने जवाफ दिएका थिए । 

यता कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा अल्पमत बहुमतको अवस्था आउन नदिई सहमतिबाट अगाडि बढ्ने वातावरण निर्माण गर्ने प्रयास गरिरहेको बताउँदै आएका छन् । कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यबाहक सभापतिलाई हस्ताक्षर बुझाएका थिए । विधानअनुसार हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यकारी छ । यस्तो अवस्थामा पुस २९ गतेभित्र विशेष महाधिवेशन हुनै पर्ने कानुनका जानकारहरू बताउँछन् । 

कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन–जीले उठाएको मागलाई संस्थागत रूपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय भने गरेको छ । बैठकले राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ । 

कांग्रेसले निर्वाचनको वातावरण निर्माण बनाउन आग्रह गर्दै आमनागरिकलाई भयरहित वातावरण बनाउन कांग्रेसले हराइरहेका हतियार र कैदीबन्दीहरूलाई तत्काल नियन्त्रणमा लिनुपर्ने माग समेत गरेको छ । ‘निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ । तर, हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिणाममा हतियार हराइरहनु, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्नो कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नु जस्ता यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ निर्णयमा भनिएको छ ।