काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच एकताको पहल तीव्र बन्दै गएको छ। तर जसपाका महासचिव मोहम्मद इस्तियाक राई भने खुला रूपमा असन्तुष्टि जनाउँदै वार्ताबाट टाढा बसेका छन्।

सोमबार र मंगलबार बसेको जसपाको कार्यकारिणी बैठकले विभिन्न राजनीतिक शक्तिसँग एकता वा सहकार्यका लागि संवाद अघि बढाउने निर्णय गरेपछि दुई दलबीच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको थियो। जसपाले वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएको छ।

ad

जसपाबाट वार्ता समिति संयोजक श्रेष्ठसहित रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभागी थिए। तर बुधबार र बिहीबार भएको संवादमा जसपाका महासचिव इस्तियाक राई सहभागी भएनन्। उनले आफूले नेकपासँगको वार्तामा उपस्थित नहुनुको जानकारी पार्टीभित्रै गराइसकेका छन्। 

नेकपातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल उपस्थित भए।

नेकपाका नेता प्रकाश ज्वालाका अनुसार दुवै दल एकताको दिशामा ‘अन्तिम टुंगो’ नजिक पुगेका छन्। बिहीबारको बैठकले एकताको सहमतिपत्र तयार गर्ने जिम्मेवारी जसपाबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट ज्वालालाई दिएको छ।

वार्तामा समाजवादी कार्यक्रमलाई पार्टी लाइनमा स्वीकार्ने, जनवादी केन्द्रीयता, विगतका कमजोरीको समीक्षा, गणतन्त्र र सुशासनको पक्षमा प्रतिवद्धता, संविधान संशोधन तथा जेनजी आन्दोलनबाट स्थापित सुशासनका एजेण्डा समेत समेटेर सहमतिका बुँदा तय गर्ने कार्य अगाडि बढेको नेताहरू बताउँछन्।

तर जसपाभित्र भने एकताको विषयमा स्पष्ट मतैक्य छैन। वरिष्ठ उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली एकतामा सकारात्मक देखिए पनि महासचिव इस्तियाक राई, उपमहासचिव प्रदीप यादवसहित शीर्ष तहका केही नेता नेकपासँग ‘ठोस खाका’ नआएसम्म एकतामा जान नहुने पक्षमा छन्।

जसपाका एक शीर्ष नेताका अनुसार, 'एकता गर्ने हो भने पहिले मोडालिटी आउनुपर्छ। अहिलेसम्म पार्टीभित्र आधिकारिक रूपमै कुनै योजना प्रस्तुत भएको छैन। अध्यक्ष अशोक राई स्वयं पनि एकीकरणका निष्कर्षमा पुग्न तयार देखिँदैनन्।'

जसपाले यतिबेला जसपा नेपाल, लोसपा, राष्ट्रिय उन्मुक्ति पार्टी, नाउपा लगायत दलसँग पनि सहकार्यका प्रारम्भिक छलफल अघि बढाइरहेको छ।

विगतमा एकीकृत समाजवादीसँग एकता वार्ता भएको प्रसंगसमेत चर्चामा आइरहेकै बेला नेकपा–जसपा वार्ताले अचानक तीव्रता लिनुले पार्टीभित्र थप असन्तुष्टि बढाएको देखिन्छ।

महासचिव इस्तियाक राईका अनुसार, कुनै पनि दलसितको एकता वार्ता र मोडालिटी पहिला पार्टीमा पेश भई छलफल भएपछि मात्रै टुंगोमा पुग्नुपर्ने हो। 'पदाधिकारी बैठकमै विषय ल्याएर स्पष्ट खाका बनाइन्छ, त्यसपछि मात्र निर्णय हुन्छ,' उनले टिप्पणी गरे।

दुवै दलका शीर्ष नेताबीच पछिल्ला दिनमा भएको संवादले एकताको वातावरण तयार भए पनि जसपाभित्र देखिएको असहमतिले एकता कति सहज होला भन्ने प्रश्न भने उब्जिएको छ।