काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार भेटवार्ता भएको छ।

उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी समसामयिक राजनीतिक विषयमा कुरा राखेका छन् ।

ad

प्रधानमन्त्रीले बुधबार मात्रै निर्वाचनमा आयोगमा दर्ता भएकामध्ये ११० दलका प्रतिनिधिसँग लामो संवाद गरेकी थिइन् ।

उनले तीन पटकसम्म दलका नेताहरूसँग संवाद गरिसकेकी छन् । अब उनले दलका नेताहरूलाई अलग अलग बोलाएर छलफल थालेकी छन् ।

विप्लव नेतृत्वको नेकपा अहिले निर्वाचन आयोगमा नेकपा माओवादीका रुपमा दर्ता भएको छ । पुष्पकमल दाहाल प्रचण्डले माओवादी धार त्यागेका बेला आयोगले विप्लवलाई नेकपा माओवादी नामको पार्टी दर्ता गरेर दिएको हो । उनले रातो गुलाफ चुनाव चिह्न पाएका छन् ।

‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भने, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।’