काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीचको प्रस्तावित एकता प्रक्रिया अन्तिम चरणमा पुगेको नेताहरूले दाबी गरेका छन्। बिहीबार पेरिसडाँडामा बसेको कार्यदलस्तरीय वार्ताले एकताका मूल बुँदामा सहमति जुटाएपछि दुवै पार्टी नेतृत्व एकता घोषणा नजिक पुगेका छन्।

वार्तामा सहभागी नेकम नेता प्रकाश ज्वालाका अनुसार, दुवै पार्टीबीच राजनीतिक, सैद्धान्तिक तथा सङ्गठनात्मक विषयमा उल्लेख्य प्रगति भएको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'हामीले हिजो राजनीतिक र सैद्धान्तिक विषयमा विस्तृत छलफल गर्यौँ, आज त्यसलाई निष्कर्षतर्फ अघि बढाउँदै सहमतिको ड्राफ्ट तयार पारेका छौँ। भोलि फेरि छलफल बसेर अन्तिम रूप दिने तयारी छ।'

ad

ज्वालाका अनुसार, कार्यदलका सदस्यहरूले एकता दस्तावेजमा परिमार्जनका लागि केही महत्त्वपूर्ण सुझाव दिएका छन्। ती सुझाव समेटेर शुक्रबार बस्ने बैठकले एकता प्रस्तावलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।

नेपाली कम्युनिस्ट पार्टीले विचार तथा सिद्धान्त मिल्ने समूहहरूसँग थप एकता सम्भावना खोजिरहेको ज्वालाले बताए। उनका अनुसार, 'कम्युनिस्टहरूबीच वैचारिक नजिकका सबै शक्ति एकतामा आउनुपर्छ' भन्ने धारणा पार्टीभित्र बलियो बनेको छ।

दुवै पार्टीबीच संगठन संरचना, नेतृत्व संयोजन, प्रदेश–केन्द्रको शक्ति सन्तुलन, नीतिगत दिशाबारे भएका छलफललाई नेताहरूले ‘उल्लेखनीय प्रगति’ को रूपमा लिएका छन्।

यदि शुक्रबार सहमति टुंगियो भने, निकट भविष्यमै संयुक्त घोषणा सार्वजनिक हुने सम्भावना छ।