
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने लक्ष्यसहित राष्ट्रिय सुरक्षा परिषद्ले सरकारसमक्ष सेना परिचालनको औपचारिक सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४१औँ बैठकले हाल देशभर देखिएको राजनीतिक अस्थिरता र केही स्थानमा बढेको तनावलाई ध्यानमा राख्दै चुनाव सुरक्षामा सेना आवश्यक रहेको निष्कर्ष निकालेको छ।
स्वतन्त्र, निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई बलियो बनाउने उद्देश्यले सेना परिचालन सिफारिस गरिएको अधिकारीहरूले बताएका छन्।
बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको थियो। बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति तथा रक्षा सचिवलगायतको सहभागिता थियो। सहभागीहरूले निर्वाचनको संवेदनशीलता, जोखिम मूल्यांकन र सम्भावित चुनौतीबारे विस्तृत चर्चा गरेपछि सेना परिचालनको प्रस्तावमा सर्वसम्मति जुटेको स्रोतको भनाइ छ।
सरकारले परिषद्को सिफारिसअनुसार छिट्टै निर्णय गर्ने र आगामी निर्वाचनका सबै संवेदनशील क्षेत्रमा बहु–स्तरीय सुरक्षा व्यवस्था लागू गर्ने तयारी अघि बढाएको बताइएको छ।









Facebook Comments