
काठमाडौँ । आन्तरिक विवाद चुलिँदै गएपछि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक फेरि सारेर शनिबारका लागि तोकेको छ। बिहीबार दिउँसो २ बजे बोलाइएको बैठक शनिबार दिउँसो १ बजे का लागि सारिएको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबीच बुधबार साँझ भएको सम्वादपछि मिति परिवर्तन गरिएको जानकारी निकट स्रोतले दिएको छ।
कांग्रेसमा अहिले मुख्य विषय पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने हो। शनिबार बिहानसम्म महाधिवेशनसम्बन्धी सर्वसम्मति जुटे बैठक त्यही दिन सकिने बताइएको छ। तर सहमति नजुटे बैठकले राष्ट्रिय सभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय लिनसक्ने तयारी छ।
निर्वाचन आयोगले माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनका लागि पुस ७ गते, र फागुन २१ गतेको प्रतिनिधिसभा पुनःनिर्वाचनका लागि मंसिर ११ गते सम्म दल दर्ता गर्न समय तोकिसकेको छ।
समय नजिकिँदै जाँदा कांग्रेस नेतृत्व दुवै चुनावका लागि दल दर्तामा अघि बढ्ने तयारीमा देखिएको छ।
असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदै आएको छ। महाधिवेशनको मिति नटुंगिँदा पार्टीको निर्णय प्रक्रिया सुनसान छ।
पार्टीभित्रका ध्रुवीकरणबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वसम्मत महाधिवेशनको पक्षमा छन्। महाधिवेशन चुनावअघि वा पछि, दुवै अवस्थामा सहमति आवश्यक पर्ने उनको अडान छ। यही कारण पार्टी बैठक बारम्बार प्रभावित हुँदै आएको हो।
बैठक सारिनुअघि पनि खड्का–गगन दुबैबीच लामो छलफल भएको थियो।शुक्रबार शेखर कोइरालाले पनि आफ्ना निकट नेताहरूसँग समूहगत बैठक गरी रणनीति तय गरेका छन्।









Facebook Comments