नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको मिति फेरि सरेको छ। आज (बिहीबार) दिउँसो २ बजे बस्ने भनिएको बैठक अब मङ्सिर ६ गते शनिबार दिउँसो १ बजे मात्र बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै बैठक स्थगित भएको र नयाँ मिति तोकिएको जानकारी दिएका हुन्।

ad

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुट्दा पटक-पटक सर्दै आएको छ।

केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको मिति टुंगो लगाउन अनौपचारिक छलफल र सहमतिको प्रयास गर्ने भन्दै बैठक स्थगित गर्दै आएका छन्।

बैठकका मुख्य एजेन्डा पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्नेमा नेताहरूबीच मतभेद छ।

संस्थापन पक्ष आसन्न प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्ने पक्षमा छ।

इतर पक्ष भने नियमित महाधिवेशन वा त्यो हुन नसके विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने अडानमा छ।

यसै विवादका कारण सहमति जुटाउन प्रयास भइरहेकाले बैठक सारिएको बुझिएको छ।