
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा सट्टेबाजी (Betting) गराउन खोज्ने दुई जना व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ परेका २ जनाले एनपीएलमा सहभागी खेलाडीहरूलाई निसानामा राख्दै उनीहरूले आर्थिक प्रलोभन देखाएका थिए।
पक्राउ परेका व्यक्तिहरूले सामाजिक सञ्जाल Whatsapp र Instagram मार्फत खेलाडीहरूसँग सम्पर्क गरी आफूले स्पोन्सर गर्ने भन्दै खेलको हारजीतमा प्रभाव पार्ने प्रयास गरेको पाइएको अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
खेलाडीहरुले नै प्रहरीलाई जानकारी गराएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार लाजिम्पाटबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारतको हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई हाल भारत चण्डिगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन्।
प्रहरीले दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको छ ।








Facebook Comments